परिवर्तन थिएटरमा राजाको नयाँ लुगा

काकरभिट्टा– परिवर्तन थिएटर मेचीनगरले नाटक राजाको नयाँ लुगा मन्चन गर्दैछ । 
काकरभिट्टास्थित मेची सामुदायिक भवनको थिएटर हलमा शुक्रवारदेखि तीन दिनसम्म नयाँ नाटक मंचन हुने भएको हो । थिएटरले विहीवार पत्रकार भेटघाट गरी नाटकवारे जानकारी गराएको थियो । प्रसिद्ध डेनिस लेखक हान्स क्रिश्चयन एन्डरसनको कथा  द इम्पेरियर्स न्यू क्लोथ को नेपाली रुपान्तरण हो । राजाको नयाँ लुगा  । नाटकलाई युवा रंगकर्मी सागर खातीले  निर्देशन गर्दैछन् । खाती काठमाडौको मण्डला थिएटरका उत्पादन हुन् । उनले मण्डलामा सिकेको शिपलाई आफ्नै क्षेत्रमा प्रयोग गर्ने प्रयत्न गरेको बताए । 
नाटकमा विभिन्न वाल कलाकारहरुको प्रस्तुती रहने छ । आयुष खतिवडाले नाटकमा मुख्य भूमिका निर्वाह गर्ने छन् । उनीसंगै मनिषा, सुष्मा, सजिता, सोनिया, क्रिसला, कोपिला, निर्मल, मृदुल, आफ्रिन, सम्झना, कल्पना, विराज, अभिषेक, पूजा र गणेशको अभिनय हेर्न सकिने छ । 
परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपालले झापामै पहिलो पटक नाटक घर स्थापना गरेरै नियमित नाटक प्रदर्शन शुरु गरिएको बताइन् । यसअघि थिएटरले सुनामी  नामक एकल नाटक प्रदर्शन गरेको थियो । यसमा सुष्मा पोख्रेलले अभिभनय गरेकी थिइन् । 
थिएटरकी उपाध्यक्ष लीला विष्टले नाटक हेर्ने वानीको विकास गर्न पनि थिएटरले नियमित नाटक प्रदर्शन गर्न थालेको बताइन् । समाजलाई नाटक वारे थाहा दिन र नाटक हेर्ने वानीको विकास गर्न नियमित मंचन शुरु गरेका बताइएको छ । 
 

प्रतिकृया दिनुहोस