मलेसियाका ‘प्राइममिनिस्टर इन वेटिङ’ इब्राहिम जेलमुक्त

मलेसियाली नेता अनबर इब्राहिम जेलमुक्त भएका छन्।

अप्राकृतिक यौनव्यवहारमा दोषी बनाएर जेल हालिएका इब्राहिमलाई मलेसियाली सुल्तान मुहम्मद पाँचौंले माफी दिएपछि बुधबार उनी जेलमुक्त भएका हुन्।

सन् २०१५ मा उनलाई अप्राकृतिक यौनव्यवहारमा दोषी बनाएर पाँच वर्षका लागि जेल हालिएको थियो। कतिपयले तत्कालीन प्रधानमन्त्री नजिव रजाकले राजनीतिक प्रतिशोध साँधेर उनलाई जेल हालेको बताउँदै आएका थिए।

जेलमुक्त भएपछि इब्राहिम काँधको उपचारका लागि अस्पताल गएका छन्।

उनी मलेसियाका प्राइममिनिस्टर इन वेटिङ (भावी प्रधानमन्त्री) हुन्। प्रधानमन्त्री मोहम्मद महाथिरले यसअघि नै दुई वर्षभित्र इब्राहिमलाई सत्ता हस्तान्तरण गर्ने वाचा गरेका छन्।

महाथिरले नै इब्राहिमलाई राजनीतिमा अगाडि बढाएका थिए। तर उनी आफैंले सन् १९९८मा इब्राहिमलाई उपप्रधानमन्त्रीबाट बर्खास्त गरे र अर्को वर्ष अप्राकृतिक यौनव्यवहारको मुद्दामा उनलाई जेल हालियो।

सन् २००४ मा जेलमुक्त भएपछि इब्राहिम विपक्षी दलको नेता बने। तर विपक्षी पार्टीले चुनाव जित्न सकेन।

सन् २०१५ मा उनलाई अप्राकृतिक यौनव्यवहारको अर्को मुद्दा लगाएर जेल हालियो।

यता ७७ वर्षका महाथिरले सन् २००३ मा उनले सत्ता छोडे।

प्रधानमन्त्री अब्दुल्ला अहमद बडावीको आलोचना गर्दै सन् २००८मा उनले पार्टी परित्याग गरे। केहीले उनको पार्टी परित्यागलाई आफैंले उत्तराधिकारी बनाएका बडावीलाई राजीनामा दिन बाध्य पार्ने चाल भएको मान्छन्। बडावीले राजीनामा दिएपछि उनी फेरि पार्टीमा फर्किए।

वानएमडिबी विकास कोषमा भएको अर्बौंको भ्रष्टाचारबारे उनका राजनीतिक चेला प्रधानमन्त्री रजाकसँग मनमुटाव भएपछि उनले सन् २०१६ मा फेरि युएमएनओ परित्याग गरे। विपक्षीसँग मिलेर गठबन्धन बनाए। हुँदा आफैंले उपप्रधानमन्त्री हटाएका इब्राइमसँग मिले।

चुनावमा महाथिर नेतृत्वको गठबन्धन विजयी भयो। उनी ९२ वर्षको उमेरमा प्रधानमन्त्री बने।

अब महाथिरले २० वर्षअघि उपप्रधानमन्त्रीबाट आफूले बर्खास्त गरेका इब्राहिमलाई प्रधानमन्त्री हस्तान्तरण गर्नेछन्।

प्रतिकृया दिनुहोस