मेचीनगरमा फेरि आँखाको नानी संकलन

काकरभिट्टा ।।
मेचीनगरमा तीन साता भित्र दोस्रो पटक मृतक शरिरबाट आँखाको नानी संकलन गरिएको छ । काकरभिट्टा स्थीत मेची नेत्रालयको प्राविधिक सहयोगमा दुर्गाचन्द्र मेमोरियल ट्रष्टले शुक्रबार मुत्यु भएका मेचीनगर–६ का ९३ बर्षिय मोहनप्रसाद सिटौलाको आँखाको नानी संकलन गरिएको ट्रष्टका अध्यक्ष डा.शरदचन्द्र प्रकाश राईले जानकारी दिए ।
मृतक सिटौलाको आँखाको नानी मेची नेत्रालयका आँखा बैंक प्राविधिक योगराज खत्रीले निकाल्नु भएको नेत्रालयका मेनेजर नवराज प्रधानले जानकारी दिए । चोट पटकका कारण आँखाको नानीमा समस्या आएर दृष्टि गुमाएकाहरु तथा अन्य कारणले नानीमा समस्या भएर दृष्ट बिहिन बनेका वालवालिकाहरुका लागि यो कर्निया बिषेश रुपमा प्रयोग गरिनेछ ।
यस अघि गत चैत २३ गते पनि काकरभिट्टा कै ८६ बर्षिय रुद्रप्रसाद पौड्ेलको पनि ट्रष्टले मृत्यु पश्चात आँखाको नानी संकलन गरेको थियो ।
काठमाण्डौ स्थीत तीलगंगा आँखा अस्पतालमा रहेको आँखा बैंकले दुर्गाचन्द्र मेमोरियललाई आँखाको कर्निया(नानी) संकलन केन्द्रका रुपमा अनुमति दिए पछि ट्रष्टले आँखा दानका लागि बिषेश सचेतना अभियान सञ्चालन गरिरहेको अध्यक्ष राईले बताए ।
ट्रष्टले आँखा दानको सचेतना कार्यक्रम सञ्चालन गरे यता मेचीनगर क्षेत्रका एक सय भन्दा बढीले ट्रष्टमार्फत आँखा दानका लागि ईच्छा पत्र बुझाएको संस्थाका सहसचिब जयप्रसाद पोख्रेलले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस