जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने   : प्रधानमन्त्रि ओलि

माघ १० ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताएका छन् । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको सत्रमा उनले आफूले नेपाली जनताका निम्ति प्रजातन्त्रका लागि आधा शताब्दी निरन्तर सषंर्ष गरेको र वर्षौंवर्ष कारागारमा कठिनतम समय बिताएको स्पष्ट गरे ।

 

नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले लोकतान्त्रिक वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालीमा राजनीतिक अधिकार तथा स्वतन्त्रता व्यापक रहेको पनि बताए ।

 

उनले नेपाल कानूनी राज्यको सुनिश्चितता, विधि र प्रक्रियामा दृढ अठोट छ भन्दै सरकारले केन्द्रीयकरण गर्ने कुनै भावना नराखेको स्पष्ट गरे ।आर्थिक उन्नयन र दिगो विकासका खातिर बहानाबाजी गर्नेहरुका लागि अब माफी दिने कुनै व्यवस्था नभएको उनको भनाइ थियो ।

 

प्रधानमन्त्री ओलीले नेपाली जनताको परिवर्तनको चाहना साकार तुल्याउनमा नै सरकारले आफ्नो ध्यान केन्द्रित गरेको भन्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को लक्ष्य साकार पार्न सुशासन कायम गर्दै आर्थिक विकासमा नै सरकारले अर्जुनदृष्टि दिएको प्रष्टयाए ।

 

‘प्रेस’जगतसँगको सम्बन्धबारे सोधिएको एक जिज्ञासाका जवाफमा उनले निरंकुशतन्त्रमा मात्र शासकको प्रशंसा गर्न प्रेसलाई नियन्त्रण गरिन्छ, लोकतन्त्रमा प्रेसले आलोचना गर्नु सामान्य हो भने ।

 

प्रधानमन्त्री ओलीले नेपाली जनता पनि जिम्मेवारपूर्ण प्रेसका पक्षमा रहेको भन्दै  प्रेसले आफ्नो पनि आलोचना गरेको बताए ।बेलायती पत्रकार तथा ‘फिनान्सियल टाइम्स’का सहसम्पादक तथा प्रमुख आर्थिक टिप्पणीकर्ता मार्टिन उल्फले सञ्चालन गरेको उक्त सत्रमा कोलम्बियाका राष्ट्रपति इभान ड्युक, आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनयान, अमेरिकी पत्रकार तथा ‘द न्यूयोर्क टाइम्स’का प्रकाशक आर्थर ग्रेग स्लजबर्गर र लिडरसिप नाउ प्रोजेक्टका संस्थापक ड्यानियल बालु आरेसले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

प्रतिकृया दिनुहोस