निर्मला पन्तका लागि न्याय माग्दै नाराबाजी गर्ने युवाहरुलाई प्रहरीको नियन्त्रणमा । 

मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै बिहीबार राष्ट्रपति भवन शीतल निवासअगाडि नाराबाजी गर्ने केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने अभियानमा संलग्न युवाहरुले ‘निर्मलालाई न्याय दे’, ‘न्याय मार्न पाइँदैन’, ‘शीतल निवास किन चुप रु’ जस्ता नारा लगाएका थिए ।

 

नाराबाजी गरिरहेका युवतीहरुलाई भने महिला प्रहरी नआएका कारण केही समयपछिमात्र नियन्त्रणमा लिइएको थियो ।

 

‘नयाँ युगको सुरुआत’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर राजधानीका पोल–पोलमा राखिएपछि सोही पोस्टरको तलतिर ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर टाँसेर युवाहरुले यो अभियान सुरु गरेका थिए ।

 

उनीहरुले लामो तथा छोटो दूरीका सवारी–साधनमासमेत ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर र पोस्टर टाँसेका थिए ।

प्रतिकृया दिनुहोस