‘मेची क्षेत्र पर्यटन महोत्सव’ इलाममा ।

मंसिर १८ । पूर्व क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ ।

 

इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई समेटेर मेची अञ्चलस्तरीय पर्यटन महोत्सव गर्न लागिएको जानकारी गराएको हो ।

 

आगामी पुस ५ गतेदेखि १५ गतेसम्म महोत्वस आयोजना गरिने जनाइएको छ । सिक्किम र पश्चिम बंगालसहितका १ लाख आन्तरिक र बाह्य पर्यटन भित्र्याउने र २ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य आयोजकको छ ।

 

मेची अञ्चलको सांस्कृतिक, आर्थिक र पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मेची पहाडि क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौलारीले जानकारी दिए ।

 

‘समृद्धिको आधार हाम्रो पर्यटन’ नारा दिइएको महोत्सवमा स्थानीय उत्पादनका स्टलहरु, खानाका परिकार, कृषिजन्य उत्पादन, औद्योगिक उत्पादन र स्थानीय सांस्कृतिक झाँकी, कला, संगीत प्रस्तुत गरिने छ ।

प्रतिकृया दिनुहोस