वाईफाईभन्दा फास्ट बन्दैछ मोबाइल नेटवर्क

विश्वका विभिन्न देशहरुमा वाईफाई इन्टरनेट भन्दा मोबाइल नेटवर्कको इन्टरनेट गति तीव्र रहेको एक अध्ययनले देखाएको छ ।

विभिन्न ८० वटा देशमा गरिएको इन्टरनेटको डाउनलोड स्पीड परीक्षणमा ३३ वटा देशमा मोबाइल डाटाको इन्टरनेट भन्दा वाईफाईको गति कम देखिएको छ ।


वायरलेस कभरेज म्यापिंग कम्पनी ओपन सिग्नलका अनुसार भविष्यमा फाइभ जी नेटवर्क आउँदा मोबाइल डाटाको गतिमा झनै वृद्धि हुनुपर्नेछ ।

सर्भेक्षण गरिएकामध्ये बहुमत मुलुकमा भने अनलाइन सर्फिङका लागि वाइफाइ नै सबैभन्दा छिटो गतिको माध्यमको रुपमा रहेको छ ।

ओपन सिग्नका अनुसार धेरै देशमा वाइफाइ गति कमजोर हुनुमा वाइफाइ सिग्नलको ‘कन्जेसन’ पनि एक कारणको रुपमा रहेको छ । एकै ठाउँमा धेरैवटा वाइफाई नेटवर्क रहँदा वाइफाइ तरंगहरु आपसमा जुध्ने वा गति कमजोर हुने समस्या उत्पन्न हुन्छ ।

विश्वका धेरै देशमा वाइफाई भन्दा मोबाइल इन्टरनेटको गति बलियो हुँदा समेत आममानिसमा मोबाइल नेटवर्क भन्दा वाइफाई नै उत्कृष्ट रहेको भन्ने धारणा रहेको र त्यस्तो आम धारणा गलत रहेको रिपोर्टमा उल्लेख छ ।

अष्ट्रेलिया जस्तो मुलुकमा वाइफाइ भन्दा मोबाइल डाटाको डाउनलोड स्पिड १३ एमबिपिएस फास्ट छ । त्यस्तै कतार, फ्रान्स, मेक्सिको, टर्की तथा दक्षिण अफ्रिकामा पनि मोबाइल नेटवर्क वाइफाई भन्दा तिव्र गतिको छ ।

उता हंगकंग, अमेरिका, थाइल्याण्ड, इजरायल तथा रुस जस्ता मुलुकमा भने मोबाइल इन्टरनेट स्पीड भन्दा वाइफाइ स्पीड झण्डै दोब्बर बढि छ ।

रिपोर्ट अनुसार फोर जी नेटवर्क उपलब्ध ५० मुलुकमध्ये ६३ प्रतिशतमा मोबाइल नेटवर्क नै वाइफाइ भन्दा तिव्र रहेको पाइयो ।

फाइभ जी आउँदा गतिको यो फरक झनै फराकिलो हुनेछ । तर विश्वका सबै भागमा फाइभ जी नेटवर्क पुग्न धेरै समय लाग्ने हुनाले दुनियाका सबै ठाउँमा मोबाइल नेटवर्क वाइफाई भन्दा तेजिलो बन्न समय लाग्ने छ ।

ओपन सिग्नलका अनुसार अब स्मार्टफोन निर्माताका लागि प्रयोगकर्तालाई मोबाइल नेटवर्कबाट वाइफाइ सिग्नलतर्फ धकेलिनबाट रोक्ने चुनौति रहेको छ ।

हालै चिनिया स्मार्टफोन कम्पनी हुवावेले यस्तो फोन पनि बनाइसकेको छ जसले सबैभन्दा फास्ट नेटवर्क समात्न सक्दछ ।

त्यस्तै सामसुङले पनि यस्तो स्मार्टफोन बनाउने प्रयास गरेको छ जसले ब्राउजिङ स्पीड बढाउनका लागि वाइफाइ र मोबाइल नेटवर्क दुबैको इन्टरनेट प्रयोग गर्दछ ।

बीबीसी

प्रतिकृया दिनुहोस