भारतमा पहिलो ‘ध्वनि–पहिलो’ इन्टरनेट

जमाना देवीले आफ्नो पहिलो मोबाइल सेट लगभग एक वर्ष पहिले हात पारेकी थिइन् । उक्त फोन सानो स्क्रिन र थिच्ने बटन भएको किप्याडयुक्त फोन थियो । बाँकी विश्वमा यस्ता फोन दुर्लभ हुँदै गइरहँदा भारतमा भने अझै पनि यस्ता फोन उलेख्य मात्रामा प्रचलनमा छन् । 

 

जमानाको गाउँ भारतको उत्तर–पश्चिम प्रदेश राजस्थानमा रहेको छ । उनको गाउँ आधुनिक सेवा सुविधाहरूबाट कोसौं किमि टाढा रहेको छ । मरुभूमिबीच बसेको उनको शान्त बस्तीमा दिनमा एउटा बस पुग्ने गर्छ । यस बसले पचास माइल टाढा रहेको सबैभन्दा नजिकको सहरसँग जमानाको गाउँको सम्पर्क स्थापित गरेको छ । 

 

आफ्ना बच्चा र नातेदारसँग कुरा गर्नका लागि आवश्यक दुई लाइन नेटवर्कका लागि जमानालाई आफ्नो घरको छतमा चढ्नुपर्छ । “त्यहाँबाट मात्र फोन लाग्छ,” उनले भने, “कहिले कहिले कुरा हुन्छ । बाँकी समय यो फोन बेकार रहन्छ ।”

 

भारतका लगभग ९० करोड मानिसजस्तै देवीले न कहिल्यै स्मार्टफोन प्रयोग गरेकी छिन्, न त इन्टरनेटको उपयोग गरेकी छिन् । यी करोडौं मानिसलाई अनलाइन ल्याउने दौडमा प्राविधिक संसारका सबैभन्दा ठूला ब्रान्डहरू लागिपरेका छन् । यस प्रक्रियामा उनीहरूले इन्टरनेटको भविष्यलाई आकार दिइरहेका छन् । 

“संसारको आधाभन्दा बढी मानिसहरू इन्टरनेटसँग जोडिएका छन् । यो भनेको संसारको लगभग साढे तीन अर्ब मानिसहरू हुन आउँछ,” भारतमा गुगलका म्यानेजिङ डाइरेक्टर राजन आनन्दनले पछिल्लो महिना एक इन्टरभ्युमा सीएनएन बिजनेसलाई बताए । 

 

यी प्रयोगकर्ताहरूलाई कसरी इन्टरनेटसँग जोडियो र इन्टरनेट तिनका लागि उपयोगी बनाउन सकिन्छ भन्ने हाम्रो प्रश्नमा आनन्दनले भने, “यो उत्तर अनलाइनमा नजोडिएका त्यी ९० करोड (भारतीयहरू) लाई कसरी जोडिन्छ त्यसमा भरपर्छ ।”

 

नजोडिएकाहरूलाई जोड्ने

भारतले पछिल्लो केही वर्षमा इन्टरनेटका प्रयोगकर्ताहरूमा विस्फोटक वृद्धि देखिसकेका छ । यसको पछाडि विशाल नयाँ बजारलाई हत्याउन अमेरिकाको सिलिकन भ्यालीका ठूला नामहरूले देखाएको तदारुकता र भारतकै संरचनात्मक ढाँचाको आधुनिकीरणका लागि सरकारले गरेको लगानीले ऊर्जाको काम गर्यो ।

गुगलले भारतभरी ४०० भन्दा बढी रेलवे स्टेसनमा वाइफाई सेवा जडान गर्न मदत गर्यो । उसले ग्रामीण भारतीय महिलाहरूलाई कसरी इन्टरनेट चलाउने भनेर सिकाउनको एक डिजिटल साक्षरता कार्यक्रम पनि चलाइरहेको छ ।  

 

फेसबुकले पनि आफ्नो एक्सप्रेस वाइफाई पहलको माध्यमबाट डिजिटल साक्षरता कार्यक्रम चलाउँछ । फेसबुक आफ्नो एक्सप्रेस वाइफाई पहलको माध्यमबाट २०,००० अस्पताल स्थापित गर्न चाहन्छ, जसले प्रतिदिन भारु १० मा नै उपभोक्ताहरूलाई जोड्छ । 

 

भारत सरकारको भारतभरीका गाउँहरूमा २,५०,००० हट्सस्पोट जोड्ने योजना छ । “मेरो विचारमा हामीले भौतिक संरचनाभन्दा डिजिटल संरचना निर्माण गर्नुपर्छ,” भारत सरकारका एक वरिष्ठ नीति सल्लाहकार अभिताभ कान्तले भने । 

 

तर निःसन्देश भारतको अनलाइन विस्तारमा सबैभन्दा ठूलो योगदान देशका सबैभन्दा धनी व्यक्तिद्वारा ल्याइएको निःशुल्क इन्टरनेट पहलको जुवाले गर्यो । मुकेश अम्बानीले सन् २०१६ सेप्टेम्बरमा २० अर्ब भारुको एक मोबाइल नेटवर्क, रिलायन्स जियो लन्च गरे । नयाँ उपभोक्ताहरूलाई ६ महिनाको निःशुल्क ४जी हाइस्पिड इन्टरनेट प्रदान गरियो । यसले मोबाइल नेटवर्कहरूबीच मूल्य–युद्ध सुरु गरायो । यसको परिणाम स्वरूप अन्य मोबाइल नेटवर्कले आफ्ना सेवाग्राहीहरूलाई दिइरहेको सेवा दर घटाउनुपर्यो । 

बजारमा लन्च गरिएको दुई वर्षपछि जियोको २५ करोडभन्दा बढी उपभोक्ता बनिसकेका छन् । अम्बानीको भविष्यवाणी छ कि सन् २०२० सम्म भारत “सम्पूर्ण रूपले ४जी” हुनेछ ।

“भारतका प्रत्येक फोन ४जीयुक्त हुनेछ । प्रत्येक उपभोक्ता ४जी सम्पर्कको पहुँचभित्र हुनेछन्,” अक्टोबरमा दिइएको एक भाषणमा अम्बानीले भनेका थिए, “हामी जहाँसुकै रहेका प्रत्येक मानिसलाई जोड्न प्रतिबद्ध छौं ।”

गोरख दानका लागि त जियोले एक नयाँ संसार नै खोलिदिएको छ । यी २६ वर्षीया युवा जमना देवीको गाउँबाट करिब ४० माइल टाढा जैसलमेर सहरमा ढुङ्गाको सप्लाई गर्ने काम गर्छन् । पाँच महिना पहिले उनले जियोको एक सिम कार्ड लिएका थिए, त्यसलाई उनले ५००० भारुमा किनिएको नोकियाको स्मार्टफोनमा राखेर प्रयोग गर्न थाले । अब त गोरखलाई ह्वाट्स एप र युट्युबको चस्का लागेको छ । भारत ह्वाट्स एपको सबैभन्दा बढी प्रयोगकर्ता भएको देश हो । अम्बानीको कम्पनीको प्रभावबारे बताउनका लागि उनी एक चर्चित भारतीय टुक्का प्रयोग गरे । 
“जियो तो सबका बाप बन गया है ।”

 

प्रतिसेकेन्ड दुई स्मार्टफोन 

४० करोड प्रयोगकर्ताहरूको साथमा भारत, चीनपछि संसारको सबैभन्दा ठूलो स्मार्टफोन बजार बनिसकेको छ । तर यो सङ्ख्या त्यहाँको जनसङ्ख्याको एक तिहाई पनि होइन । यसैले स्मार्टफोन निर्माता बाँकी मानिसहरूसम्म पुग्ने दौडमा लागिरहेका छन् । 

 

आजको दिनमा भारतको बजारमा दक्षिण कोरियाको स्यामसङ र चीनको साओमी हाबी छ । दुवैको बजार हिस्सा लगातार बढ्दै गइरहेको छ । यो वर्ष नयाँ दिल्लीको बाहिर स्यामसँगले उसको दावी अनुसार ‘संसारको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री’ बनाएको छ । जब कि साओमीले आफ्नो क्षमता तीन गुण बढाएको छ र उसले अब भारतमा प्रतिसेकेन्ड दुई मोबाइल उपकरणको उत्पादन गर्न सक्छ । 

“पश्चिम र चीनमा मानिसहरू पहिले अफलाइबाट डेस्कटपपछि ल्यापटप र त्यसपछि बल्ल मोबाइलको माध्यमबाट अनलाइन भए । त्यसको विपरीत यहाँका मानिसहरू एक्कै पटक स्मार्टफोनको माध्यमबाट अनलाइन भए,” साओमीका भारत प्रमुख मनु जैनले मेमा सीएनएनलाई लिएको एक अन्तरवार्तामा भने । 

 

भारतमा अनलाइन हुन सबैभन्दा ठूलो बाधा स्मार्टफोनको मूल्य भइरहेको छ । सबैभन्दा सस्तो मोडल पनि अधिकांश भारतीयहरूको पहुँचभन्दा बाहिर छ । भारतीयहरूको वार्षिक औसत आय डेढ लाख भारुभन्दा पनि कम छ । यस्तोमा झन् रूपयाँको मूल्यमा आएको गिरावटले गर्दा साओमीले मूल्य बढाइदिएको छ । 

 

आफ्नो महँगो आइफोन सेटको साथ एप्पल भारतमा खुट्टा जमाउनका लागि सङ्घर्ष गरिरहेको छ । भारतीय बजारमा उसको वर्तमान हिस्सा मुस्किलले २ प्रतिशत छ । अर्कोतर्फ ओप्पो र भीभो जस्ता चिनियाँ कम्पनीहरूले राम्रो हिस्सा लिइसकेका छन् । तर उनीहरूको सबैभन्दा सस्तो स्मार्टफोन सेट पनि लगभग १० हजार भारु रहेको छ । 

 

गुगलका आनन्दनले एकदम सामान्य स्मार्टफोनको मूल्य पनि ४००० भारुभन्दा बढी हुनेतर्फ औँल्याए । जबकि किप्याड फोनहरू ९०० भारुमै पनि किन्न सकिन्छ । यही कारणले अझै पनि अधिकांश भारतीयहरूले यही सेट बोक्छन् । 

 

“यदि भोलि बिहान उठ्दा मैले मागेको एउटा कुरा पूरा हुन्छ भनियो भने म मानिसहरूले किन्ने सक्ने मूल्यको स्मार्टफोन उपलब्ध होस् भन्ने माग्छु,” उनले भने । “यदि हामीले यस्तो गर्न सकौँ भने मेरो विश्वासमा हामी रातारात भारतको उपभोक्ता सङ्ख्या दुई गुण बनाउन सक्छौं ।”

 

“तपाईं यो अवसरलाई कसरी हात पार्नु हुन्छ ?”

यो बीच स्मार्टफोन भएका करोडौं भारतीयहरूको अघि अनेक विकल्प आएको छ । अमेजन, उबर र नेटफ्लिक्सजस्ता डिजिटल क्षेत्रका विश्वस्तरका ठूला नामहरू फ्लिपकार्ट, ओला र हटस्टारजस्ता स्वदेशी प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् । 

अमेजनले आफ्नो भारतीय व्यापारलाई विकासित गर्नका लागि कम्तीमा पनि ५ अर्ब अमेरिकी डलर राशि लगाएको छ । चीन र दक्षिणपूर्वी एसियाबाट बाहिरिएपछि ऊबरले आफ्नो भविष्यको दाउ भारतमा लगाइरहेको छ । नेटफ्लिक्सले भारतमा यो वर्षको प्रारम्भमा आफ्नो पहिलो मौलक शृङ्खला “सेक्रेड गेम्स” रिलिज गर्यो । बाँकी एक दर्जन मौकिल शृङ्खला छिट्टै आउँदैछन् । 

 

“भारत हाम्रो सबैभन्दा ठूलो बजारमध्ये एक हो,” एसियामा नेटफ्लिक्सका सञ्चार उपाध्यक्ष जेसिका लीले बताइन्, “तपाईं यहाँको जनसङ्ख्याको विशालता, इन्टरनेटको पहुँच तथा विकासको अवसरलाई हेरेर पनि यो मूल्याङ्कन लगाउन सक्नुहुन्छ । तर यही कुरामा चुनौती पनि छ, तपाईं यी अवसर कसरी हात पार्नु हुन्छ भन्ने ।”

 

इन्टरनेटको विस्तारले कैयौँ भारतीय स्टार्टअपहरूको पनि जन्म गराएको छ । तीमध्ये कैयौँको अर्बौं डलरको बजार भ्यालुएसन गरिएको छ । ओलाको ट्याक्सी सेवा भारतका ११० सहरहरूमा कार्यरत छ । यो उबरको भन्दा ८० बढी हो । भारतीय अनलाइन खुद्रा बजारमा अमेजनको ३२ प्रतिशत हिस्साको तुलनामा फ्लिपकार्टको अनुमानित ४० प्रतिशत हिस्सा छ । भारतको अग्रणी डिजिटल भुक्तानी कम्पनी पेटीएमले ८ वर्षमा ३० करोडभन्दा बढी उपभोक्ता बनाएको छ । 

 

“हामी यस्तो कम्पनीमध्ये हौं जो इन्टरनेट युगमा जन्मियौँ,” पेटीएमका सीईओ विजय शेखर शर्माले भने, “मेरो विचारमा भविष्यमा इन्टरनेट यो देशको सामाजिक र आर्थिक विकासको मुख्य चालक बन्नेछ ।”अन्य विश्वव्यापी कम्पनीहरू पनि यो डिजिटल भविष्य देखेर पैसा हालेर भारतमा विस्तार गरिरहेका छन् । 

 

जब वारेन बफेटको बर्कसायर हैथवेले यो वर्ष पेटीएमको सेयर प्राप्त गर्यो यो उसले कुनै पनि भारतीय कम्पनीमा गरेको पहिलो लगानी थियो । त्यसका साथै उसले उक्त लगानीमा गरेर चीनको प्राविधिक क्षेत्रको ठूलो नाम अलीबाबा र जापानको सफ्टबैङ्कसँग उक्त कम्पनीको लगानीकर्ताको रूपमा समावेश भयो । सफ्टबैङ्कको ओलामा पनि हिस्सादारी छ । फ्लिपकार्टको नियन्त्रण अब अमेरिकी खुद्रा बिक्रेता वालमार्टसँग छ । उसले यो वर्षको आरम्भमा ७७ प्रतिशत सेयरका लागि एक लाख करोड भारुको भुक्तानी गरेको थियो । 

 

चीनको अर्को ठूलो प्राविधिक कम्पनी ट्यान्सेन्टसँग फ्लिपकार्ट र ओला दुवैको सेयर रहेको छ । डिज्नेले ट्वान्टी फस्र्ट सेन्चुरी फक्सको अधिकांश सेयर किन्ने सम्झौताको हिस्साको रूपमा भारतको शीर्षस्थ स्ट्रिमिङ सेवा दिइरहेको हटस्टार र यसका ७.५ करोडभन्दा बढी मासिक रूपमा सक्रिय सदस्यहरू आफ्नो हातमा लिने प्रक्रियामा छ । 

पहिले भारत, पछि संसार 

ठूलो लगानी र तीव्र विकासको यो आकर्षक मिलनले भारतलाई एक प्रयोगशालामा परिवर्तन गरिदिएको छ । आज त्यहाँ ती अवधारणा र उत्पादनहरूको आकार लिइरहेका छन्, जसले पछि भारतको सीमाभन्दा निक्कै टाढाका इन्टरनेटलाई आकार दिनेछ । 

 

“जहाँसम्म भारतको कुरा छ, भविष्य त यहाँ आइसकेको छ,” दक्षिण एसियाको फेसबुकको सार्वजनिक नीतिका निर्देशक आँखी दास भन्छन् । “पहिले भारत” उत्पादन र फिचरहरूको त्यो शृङ्खला हो, जसलाई पछि संसारका बाँकी देशहरूमा लिएर गइएको छ ।  

 

उबरले यो वर्षको सुरुमा आफ्नो एपको कम ब्रान्डविथ संस्करण ‘लाइट’ लन्च गर्यो । त्यस्तै डेटिङ एप टिन्डरले पहिलो पटक भारतमा एक फिचर आरम्भ गरेको छ, जसले कुराकानीको अग्रसरतामा महिलाहरूलाई बढी नियन्त्रण प्रदान गर्छ । दुवै कम्पनीले यी फिचर्सहरू अन्य देशहरूमा पनि लाने विचार गरिरहेका छन् । 

 

सन् २०११ मानै फेसबुकले आफ्नो वेबसाइटको यस्तो संस्करण ल्यायो, जो साधारण मोबाइलमा पनि काम गथ्र्यो । त्यो बेलादेखि नै फेसबुकले मिश्रित सफलताको साथ भारतमा अनेक अन्य फिचर्स र संस्करण ल्याइरहेको छ ।  अमेजनले आफ्नो एपलाई भारतमा सबैभन्दा बढी भाषा बोलिने भाषा हिन्दीमा सुरु गरेको छ । निकट भविष्यमा उसले अन्य भारतीय भाषाहरू पनि जोड्ने योजना बनाएको छ ।  

१३० देशहरूमा विस्तारको योजनासहित नेटफ्लिक्सले सबैभन्दा पहिलो सेवा भारतमा सन् २०१६ मा लन्च गर्यो । त्यसको एक वर्षभन्दा कम समयमा उसले संसारभरमा आफ्ना प्रयोगकर्ताहरूलाई कार्यक्रम डाउनलोड गर्न र तिनलाई अफलाइन हेर्न मिल्ने सुविधा प्रदान गर्न लाग्यो । 

 

नेटफ्लिक्सका लीको भनाइमा नेटफ्लिक्सलाई उदाउँदो बजार अनुकूल बनाउन भारतले सबैभन्दा ठूलो भूमिका खेल्यो ।  “डाउनलोड, फाइल कम्प्रेसन, भिडियाका लागि फाइलनको आकारलाई सानो बनाउने ताकि यो राम्रो तरिकाले प्रवाहित हुन सकोस्, बफरिङ कम गर्ने यी सबै भारतजस्तो बजारको हाम्रो अनुवभले नै सम्भव भयो,” उनले भनिन् । 

 

युट्युब र गुगल म्यापजस्ता अफलाइन संस्करणहरू ल्याउन र भारतको दजनौं क्षेत्रीय भाषाहरू अझ राम्ररी ट्रान्सलेट हुेन सेवा विस्तार गर्न गुगल सक्रिय रहेको छ ।  “प्रत्येक उत्पादनमा हामी के देखेको कुरा के हो भने जब हामी साँच्चै भारतकै लागि त्यी सामग्रीहरू निर्माण गरिरहेका हुन्छौं, तब हाम्रो उत्पादनले निक्कै राम्रो काम गर्छ,” आनन्दनले भने । 

पहिलो ‘ध्वनि–पहिलो’ इन्टरनेट

भारतीयहरूले इन्टरनेटको प्रयोग गर्ने तौरतरिकलाई आकार दिइरहेका छन् । यसमा गुगलको व्यापारको मुख्य आधार ‘सर्च’समेत सामेल छ । “यी नयाँ प्रयोगकर्ताहरू टाइप गर्नुको साटो इन्टरनेटमा कुरा गर्न मन पराउँछन्, यही कारण भारतमा आवाजबाट ‘सर्च’ गर्ने शैलीप्रति वर्ष २७० प्रतिशतको दरले बढिरहेको छ, जुन निक्कै आश्चर्य पार्ने तथ्याङ्क हो,” आनन्दनले अगाडि भने । 

“हाम्रो भिडियो इन्टरनेट त पहिलेदेखि नै थियो र आजको भारतको ट्रेण्ड हेरेर म तपाईंलाई भन्न सक्छु हामी संसारको पहिलो आवाज ‘सर्च’ इन्टरनेट बन्दैछौं ।”

भारतका स्टार्टअपहरू पनि आफ्नो सिमानाभन्दा टाढासम्म आफ्नो नजर लगाउन थालेका छन् । पछिल्लो वर्ष ओला अस्ट्रेलिया, न्युजिल्यान्ड र यूकेसम्म पुग्यो । “भारतमा काम गर्नका लागि कठोर प्रतिस्पर्धाको सामना गर्नुपर्छ,” नोभेम्बरको आरम्भमा सीएनएनसँगको कुराकानीमा ओलाका सामरिक उपक्रमका प्रमुख आनन्द शाहले भने, “यदि तपाईं भारतमा गर्न सक्नुहुन्छ भने तब तपाईं कहीँ पनि गर्न सक्नु हुन्छ ।”

पेटीएम क्यानडामा काम गर्छ र यो वर्ष जापानमा अनलाइन भु

क्तानी आरम्भर गर्नका लागि सफ्टबैङ्कसँग साझेदारी गर्दै छ । “एक पटक अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिसकेपछि हामी निश्चित रूपमा अमेरिकाको बजारमा जान चाहन्छौं,” पेटीएमका शर्माले भने ।

 

संसारको दोस्रो सबैभन्दा ठूलो अनलाइन आवादी हुनाले भारतीयहरूको निक्कै ठूलो प्रभाव हुने निश्चित छ । अर्को कुरा चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूको विपरीत भारतीयहरू विश्वभर प्रयोग भइरहेका प्लाटफर्महरूको प्रयोग गरिरहेका छन् । 

 

“ट्विटरमा सबैभन्दा बढी नागरिक भारतीय हुनेछन्, फेसबुकमा पनि सबैभन्दा बढी नागरिक भारतीय हुनेछन्,” शर्माले भने ।  छिट्टै युट्युबमा संसारको कुनै पनि अन्य च्यानलभन्दा बढी सब्स्क्राइबर सायद बलिउडको म्युजिक लेबल टी–सिरिजको हुनेछ । 

नियमनलाई सच्याउने

विकासको तीव्र गतिले नियमनहरू र अन्य परिवर्तनहरू पनि निम्त्याइरहेको छ । यसले मानिसले अन्य देशमा प्रयोग गरिरहेको इन्टनेटलाई अकार दिन सक्छ ।  उदाहरणका लागि पछिल्लो समय २ करोड भारतीयले प्रयोग गर्ने ह्वाट्स एप आफ्नो प्लाटफर्ममा भइरहेको गलत सूचनाका लागि कडा आलोचनामा पर्यो । 

 

भाइरल हुने ‘फेक न्युज’ पछिल्लो वर्ष भारतभर भीडले गर्ने हिंसासँग जोडियो । यी घटनामा बच्चाको अपहरणको झुटो हल्लाका कारण भीड द्वारा एक दर्जनभन्दा बढीको हत्या भयो । सरकारले फेसबुकको स्वामित्वमा रहेको यो कम्पनीसँग झुटो सूचना फैलाउन यसको भूमिकाका लागि बारम्बार कुरा गर्यो साथै उसलाई आफ्नो काम गर्ने तरिकामा बदलाब गर्न भनियो । 

 

केही मागहरूप्रति ह्वाट्स–एपले नकारात्मक जवाफ दियो । यसमा व्यक्तिगत सन्देश पत्ता लगाउने पनि सामेल छ । यसका बाबजुद उसले आफ्नो एपको एक तह फिचर बढाइदिएको छ । यसअन्तर्गत म्यासेज पठाउनेले यो आफैले लेखेको नभएर फरवार्ड गरेको भन्ने जानकारी आउने बनाइएको छ । साथमा एक म्यासेजलाई एक पटकमा कति च्याटमा फरवार्ड गर्ने त्यसलाई पनि सीमित गरिएको छ । 

 

यी दुई फिचर भारतमा आरम्भ गरियो र पछि संसारको बाँकी भागमा ल्याइयो । यसको एक प्लाटफर्ममा ‘फेक न्युज’ र गलत जानकारीको रोक्न ‘महत्त्वपूर्ण प्रभाव’ रहेको दासले बताए । दासले यो फिचर्स ब्राजिलमा हालै सम्पन्न भएको चुनावसहित अन्य स्थानमा पनि प्रभावकारी रहेको बताए । 

 

आउन लागेका थप नियमनले भारतको विश्वव्यापी इन्टरनेटको नयाँ क्षेत्रको रूपमा रहेको हैसियतलाई खतरामा पार्न सक्छ ।  डिजिटल भुक्तानीमा रहेको नियन्त्रणले पहिले नै ह्वाट एप र गुगललाई प्रभावित पारेको छ । प्रस्तावित विद्युतीय व्यापारको नियमले एमेजनको भारत व्यापारलाई असर गर्न सक्छ । विश्वस्तरका प्राविधिक कम्पनीहरूको भनाइमा प्रस्तावित कानुनको भारतीय प्रयोगकर्ताको डाटा भारतमा नै सङ्ग्रहित गरिनेछ र यसले तिनको तीव्र रफ्तारको विकासमा ब्रेक लगाउन सक्छ । 

 

“मेरो विचार के छ भने कुनै पनि खालको डाटाको स्थानीयकरणले उक्त देशको इन्टरनेट अर्थव्यवस्था र त्यसले गर्न सक्ने नयाँ क्षमतालाई धीमा गर्छ,” गुगलका आनन्दनले भने । “हामी के आशा गर्छौं भने भारत यो मामलामा अग्रगामी हुनेछ ।”

 

“हामी सुरुको विन्दुमा छौं”

नियमनको बहस भारतको डिजिटल अर्थव्यवस्थाका लागि महत्त्वपूर्ण छ । चीनले आफ्नो विशाल इन्टरनेट प्रयोगकर्तालाई विश्वस्तरका कम्पनीबाट टाढा राख्ने निर्णयबाट भारतलाई निक्कै फाइदा पुगेको छ । 

 

गुगल र फेसबुकलाई चीनको ८० करोड इन्टरनेट प्रयोगकर्ताहरूबाट टाढा राखिएको छ । यसको नतिजा ती कम्पनीले ठूलो पूर्वाधारहरू भारततर्फ सञ्चालित गरिदिएको छ । चिनियाँ कम्पनीहरूले पनि भारतको खुल्ला अर्थव्यवस्थाबाट फाइदा उठाएको छ ।

 

“हाम्रो देशले कुनै पनि इन्टरनेट प्लाटफर्मको सफलताका लागि आवश्यक जुन अवसर र विविधता प्रदान गर्छ, त्योबाट म निक्कै आशावादी छु,” फेसबुकका दासले भने । पेटीएमका सीईओ शर्माको विचारमा भारतले विश्वव्यापी प्राविधिक कम्पनीहरूलाई निक्कै ठूलो स्वतन्त्रता दिइएको छ र उनलाई उनको देशमा भइरहेको इन्टरनेट विकासको लाभ उठाइरहेका कम्पनीहरूको डाटाहरूलाई भारतमै सङ्ग्रहित गर्नुपर्ने कर्तव्य रहेको लाग्छ । 

“हाम्रो डाटा देशबाट बाहिर गएन भने मात्र हामीले डाटा कसले प्रयोग गरिरहेका छन्, केको लागि गरिरहेका छन् वा केका लागि गरिरहेका छैनन् भनेर जान्नेछौं ।” उनले भने, “तपाईंको व्यापार यहाँ छ । तपाईंको उपभोक्ता यहाँ छन् । बजार यहाँ छ । त्यस्तोमा डाटा यहाँ सङ्ग्रह गर्न तपाईंलाई के अफ्ठ्यारो पर्छ ?”

 

सरकारले जुन पक्षमा प्रहार गरे पनि बजार त बढ्दै जानेछ, त्यो पनि तीव्र गतिमा । गुगलको आनन्दनका अनुमान के छ भने धेरैमा २०२२ सम्म भारतमा ८० करोड प्रयोगकर्ता हुनेछन् । त्यसो भए हामी चीन जति नै इन्टरनेट प्रयोगकर्ताहरू बनाउनबाट तीनदेखि चार वर्ष मात्रै टाढा छौं,” उनले भने । 

 

यसको अर्थ यो हो कि प्राविधिक उद्योगका लागि आजको दिनमा भारत विश्वको खजाना हो । “वास्तविकता यो हो कि आज भारतको केवल ३० प्रतिशत जनसङ्ख्या अनलाइन छ । तर भारतमा जसलाई इन्टरनेटको आवश्यकता छ, जो इन्टरनेटबाट फाइदा उठाउन सक्छन्, उनीहरू अझैसम्म अनलाइन आएका छैनन्,” आनन्दनले भने, “हामी कैयौँ अर्थमा भारतीय इन्टरनेटको सुरुवाति विन्दुमा छौं ।”

प्रतिकृया दिनुहोस