तिहारमा सुरु भएको देउसी एकादशीसम्म

कार्तिक २२ ।  नेपाली समाजमा कार्तिक कृष्ण औँसीको साँझमा लक्ष्मीपूजा गरेपछि भैलो गीत गाउने चलन छ। विशेषगरी साना नानी र किशोरीहरूले भैलो गीत गाउँछन्। गोवर्धनपूजाका दिन पुरुषहरूले देउसी खेल्छन्। कतिपय ठाउँमा त तिहारमा सुरु भएको देउसी एकादशीसम्म चल्छ। देउसी खेल्ने परम्परासँग दानवराज बलिको कथा जोडिएको छ। राजा बलिले वामन अवताररूपी नारायणले मागेको तीन पाइला जमिनमध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए।  

 

त्यसबेला नारायणले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई देउसीको गाथा चलेको हो भनिन्छ। आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको स्मरण गर्दै मानिसहरूले देउसीभैलो खेल्ने परम्परा चलाएका हुन् भन्ने विश्वास गरिन्छ। यसै कारण पनि देउसीभैलोमा बलि राजाले पठाएको प्रसंग जोड्दै उनको गाथा गाइन्छ। कतिपय ुदेउसी रेुलाई संस्कृत भाषाको देवम् शिरम् भएको तर्क पनि गर्छन्। अर्थात् देवताको शिर भन्ने अर्थमा देउसी गाइएको हो। वर्षौ अघिदेखि गाउँका कुनाकन्दरामा सिर्जना भएका र समय र स्थानअनुसार परिमार्जन हुँदै आएका साहित्य पनि कम मजबुत हुँदैनन् भन्ने प्रमाण तिहारमा खेलिने देउसीभैलो चुट्का, बालन, भजन आदिले दिइरहेका हुन्छन्।

 

तिनमा भएका शब्दको प्रयोग र सबैको मन जित्न सक्ने प्रस्तुतिले यसको पुष्टि गर्छ। सुरुदेखि अन्त्यसम्म एउटै फाँकीमा गाइने देउसीभैलो ठाउँअनुसार फरक लबजका भएको पाइन्छ। भैली गाउँदा कतै लेग्रो तानेर ‘भइऽऽलो’ भनिन्छ भने कतै भैलीराम वा कतै ‘भैलिनी हो’। यस्तै देउसीमा पनि कतै ‘देउसी रे’, ुद्यौसी रेु ‘देउसीराम’ कतै ‘देउसु रे’ भनेको पाइन्छ। देउसीभैलो गाउँदा बीचबीचमा ठाउँअनुसारका अन्य लोकगाथाहरू पनि जोडिन्छन्। गीत भएपनि देउसीभैलो गाउने नभनीकन ुखेलेकोु  पनि भनिन्छ। देउसीभैलो खेल्ने समूहमा एक जना भट्याउने हुन्छ अरुले देउसी वा भैली रे भन्छन्। ठाउँअनुसार खैंजडी मुजुरा कठताल र मादल जस्ता बाजाको प्रयोग गरिन्छ। भैलिनीहरू सुरुवातमै भैली खेल्न आएको घरबेटीको घरको मनमोहक दीपावलीसहितको लक्ष्मीपूजाको वर्णन गर्दै यसरी भैलो सुरु गर्छन्–

 

        हरियो गोबरले लिपेको, लक्ष्मीपूजा गरेको           हे औँसीबारो गाई तिहारो भैलो।।। अन्त्यमा घरपतिले श्रद्धाले दिएको चामल, भेटी, सेलरोटी फलफूल आदि ग्रहण गर्दै भैलिनीहरू घरमालिलाई आशीर्वाद दिन्छन्। भैलिनीहरूले दिएको आशीर्वाद लाग्ने विश्वास गरिन्छ।   यसैगरी गोवर्धनपूजाको दिनदेखि देउसेहरू घरघर डुल्ने गर्छन्। देउसी खेल्दा परम्परागत भेषभूषा दौरा सुरुवाल लगाएर  ए भन भन भाइ हो, देउसी रे भन‍।।। भन्दै स्वमा स्वर मिलाएर गाउँछन्। पहाडी क्षेत्रमा देउसीखेल्दा ब्राह्मण–क्षेत्री समुदायले बालन भजन गाउने गर्दछन् । बालन गाउँदा रामायण, महाभारत र पौराणिक प्रसंगहरू जोडिन्छन्। मादल र खैँजडीको गाइने कम्ती मनमोहक हुँदैन र रात बितेको पत्तो हुँदैन। अचेल देउसीभैलोमा मानिसहरूको रुचि घट्दै गएको छ। मनोरञ्जनका अन्य सामग्रीको व्यापकता, बढ्दो असुरक्षाका कारण देउसीभेलो खेल्ने चलन घट्दै गएको हो। देउसीभैली खेल्नेहरूले पनि संस्कृति जोगाउने र स्थस्थ मनोरञ्जन गर्ने भन्दा पनि अराजकता निम्त्याउने गरेका कारण मानिसहरूमा यसप्रति अरुतिच बढेको संस्कृतिविदहरूको बुझाइ छ।
 

प्रतिकृया दिनुहोस