पाल्पामा ढाका कपडाको व्यापार  बृद्धि । 

कात्तिक २१ । तिहारका बेला पाल्पामा ढाकाका कपडाको व्यापार निकै बढेको छ । भाइटीकाका दिन दिदीभाइले ढाकाबाट बुनेका कपडा आपसमा उपहार दिने भएकाले व्यापार निकै बढेको हो ।

 

व्यापार बढेसँगै ढाका उद्योगीलाई बजारको माग धान्न भ्याइ–नभ्याई भएको छ । पाल्पाका विभिन्न ढाका उद्योगमा करिब एक हजारले रोजगारी पाउँदै आएका छन् । ढाकाटोपी भन्ने बित्तिकै धेरैले पाल्पाली ढाकाटोपीलाई सम्झिन्छन् । पाल्पाली ढाकाटोपीको कारोबार अन्य समयको तुलनामा तिहारमा बढी हुने गर्दछ ।

 

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका, मखमली फूलको माला र ढाकाटोपी लगाइदिने चलन छ । त्यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई पछ्यौरा, सल, व्यागजस्ता सामान उपहार दिने गर्दछन् । यतिबेला पाल्पामा ढाकाका कालिगढलाई तिहारकै सरसमान निर्माण गर्न भ्याई–नभ्याई भएको कार्की ढाका उद्योगका प्रोपाईटर कपिल कार्कीले बताए ।

 

तिहारसँगै चिसो मौसम सुरु भएकाले पनि दिदी बहिनीले दाजुभाईलाई चिसोबाट बच्न ढाकाका कपडा दिने चलन छ । अरु समयमा ढाकाटोपी नलगाउनेले पनि भाइटीकाका दिन लगाउने चलन बढ्दै गएको उपभोक्ता बताउँछन् ।

 

मुलुकमा प्रत्येक वर्ष ढाकाको व्यापार बढ्दै गएको छ । दसैं, तिहार आफूहरुको मुख्य सिजन भएकाले ९० प्रतिशत ढाकाको व्यापार यही बेला हुने गरेको व्यापारीहरु बताउँछन् । तिहारका बेला भने ढाका टोपीको व्यापार अत्यधिक हुने गरेको व्यापारीहरुको अनुभव छ ।

 

 

तानसेनमा मात्र १० वटा ठूला ढाका उद्योग छन् । अन्य जिल्लामा पनि ढाका उद्योग खुल्ने क्रम बढ्दै गएको छ । पाल्पाका ढाका उद्योगमा करिब १ हजारले रोजगारी पाएका छन् । यहाँ वार्षिक २० करोड रुपैयाँ बराबरको ढाकाको कारोबार हुने गरेको छ ।

प्रतिकृया दिनुहोस