अमेरिकाद्वारा इरानविरुद्ध ‘अहिलेसम्मकै कडा’ प्रतिबन्ध लागू

कात्तिक १९ । अमेरिकाले इरानविरुद्ध सन् २०१५ को परमाणु सम्झौतापछि हटाइएका सबै प्रतिबन्ध पुनः लागू गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रतिबन्ध इरानविरुद्ध अहिलेसम्मकै कडा भएको जनाउँदै प्रतिबन्ध इरानसित व्यापार गर्ने मुलुकप्रति पनि लक्षित रहेको जनाएको छ ।

 

प्रतिबन्धबाट तेल निर्यात, जहाजबाट सामान ढुवानी, बैंकलगायत अर्थतन्त्रका मुख्य क्षेत्र बढी प्रभावित हुनेछन् । इरानी राष्ट्रपति हसन रुहानीले भने तेल निर्यात गर्ने भन्दै सबै प्रतिबन्ध तोड्ने जिकिर गरेका छन् ।

 

इरानी सेनाले आफ्नो क्षमता प्रदर्शन गर्न हवाई रक्षा अभ्यास गर्ने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मेमा इरानसितको परमाणु सम्झौताबाट अमेरिका पछि हटेको भन्दै पुनः प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । उनले उक्त सम्झौता खराब भएको टिप्पणी गर्दै आएका छन् । ट्रम्पले इरानसितको सम्झौताका शर्त अस्वीकार्य भएको पनि बताएका थिए ।

 

सम्झौतापछि अमेरिकाले इरानमाथि लगाइएका प्रतिबन्ध केही खुकुलो पारेको थियो । तर, त्यसको बदलामा इरानले विवादास्पद परमाणु गतिविधिलाई सीमित तुल्याएको थियो । 

 

सन् २०१५ मा भएको सो सम्झौताका पक्ष राष्ट्र बेलायत, फ्रान्स, जर्मनी, रुस र चीन अझैपनि सम्झौताप्रति प्रतिबद्ध छन् ।उनीहरूले अमेरिकी प्रतिबन्धलाई छल्न र इरानसित व्यापारिक सम्बन्ध कायम राख्न नयाँ भुक्तानी प्रणाली स्थापना गर्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस