सिओल शान्ति पुरस्कार लिँदा किन विवादमा परे भारतीय प्रधानमन्त्री मोदी ?

 कार्तिक  १७ ।  कार्तिक गएको अक्टोबर २४ मा भारतीय प्रधानमन्त्री सिओल शान्ति पुरस्कारबाट सम्मानित भए । सन् १९९० मा स्थापना भएको सिओल शान्ति पुरस्कार २४ औं ओलम्पिक खेलकुद कोरियामा सफल रुपमा सम्पन्न भएको खुशीयालीमा प्रत्येक दुई वर्षमा प्रदान गर्ने गरिएको छ । २४ औं ओलम्पिक खेलकुद प्रतियोगितामा १६० देशको सहभागिता रहेको थियो ।

 

खेलकुद आयोजनाको अवसरका सबै देशले कोरियाली प्रायद्विपमा र विश्वमा शान्तिको कामना गरेका थिए साथै त्यो खेलले धेरै देशको मेलमिलाप गरिदिएको थियो । विशेष गरी कोरियाली प्रायद्विपमा शान्तिको कामना गर्दै सिओल शान्ति पुरस्कार दिन थालिएको हो ।

 

सिओल शान्ति पुरस्कार त्यस्ता व्यक्तिलाई दिइँदै आइएको छ जसले वार्ता, सहमति, पुनर्मिलनबाट शान्ति र विकासमा हातेमाले अगाडि बढाउँछन् । यो पुरस्कार संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफि अन्नान, जर्मन चान्सलर एङ्गेला मर्केल जस्ता व्यक्तिले पाइसकेका छन् ।  अहिलेसम्म १४ जना व्यक्ति सिओल शान्ति पुरस्कारबाट सम्मानित भैसकेका छन् । १३ सय जना मनोनयनकर्ताले छानेका एक सयजनालाई पछि पार्दै २०१८को सिओल शान्ति पुरस्कार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राप्त गरेका हुन् । तर पुरस्कार पाएपछि उनी विवादमा परेका छन् ।

 

भारतीय प्रधानमन्त्री मोदी सिओल शान्ति पुरस्कारबाट सम्मानित भएको दुई दिनपछि कोरियामा मोदीको व्यापक विरोध भयो । दक्षिण कोरियाको नागरिक समाजले मोदी सिओल शान्ति पुरस्कार लिन अयोग्य व्यक्ति भएको भन्दै विरोध गरेको थियो । कोरियाका नागरिक समाजले मोदी कोरियाका पूर्व राष्ट्रपति चुन डू ह्वानजस्तै रहेको र उनलाई हचुवाका भरमा पुरस्कार दिइएको भन्दै विरोध गरेको हो । चुन डू ह्वान आर्मी जर्नेलबाट राष्ट्रपतिसम्म बन्न सफल भएका थिए ।

 

 

उनले आफू शक्तिमा भएको बेला धेरै नागरिकलाई दमन गरेको र भष्ट्राचार गरेर अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो । मोदीलाई पनि ह्वानसँग तुलना गर्दै कोरियाको नागरिक समाजले उनलाई सिओल शान्ति पुरस्कार दिनु निन्दनीय भएको भन्दै विरोध गरेको थियो । 

मोदीले सन् २००२ मा गुजरातमा धेरैको हत्या गरेकोले उनी सिओल शान्ति पुरस्कार लिन अयोग्य रहेको आरोप कोरियाको नागरिक समाजले लगाएको छ ।

गएको अक्टोबर २९ मा कोरियाका धेरै नागरिक समाजले सिओल शान्ति पुरस्कार कमिटीको कार्यालय अगाडि प्रदर्शन गर्दै मोदीलाई दिइएको सिओल शान्ति पुरस्कार फिर्ता लिन माग गरेका थिए ।

अक्टोबर २४ मा मोदीलाई सिओल शान्ति पुरस्कार दिइएको थियो तर त्यसको दुई दिनपछि अक्टोबर २६ मा कोरियाको नागरिक समाजले मोदीलाई सिओल शान्ति पुरस्कार दिनु कोरियाका तानाशाही चुन ह्वानलाई दिनु सरह भएको भन्दै विरोध गरेको थियो ।

कोरियाका पूर्व राष्ट्रपति समेत रहेका चुन ह्वान सन् १९८० देखि १९८८ सम्म कोरियाका राष्ट्रपति भएका थिए । उनलाई सन् १९९६ मा मृत्युदण्ड दिइएको थियो । उनले कोरियाको ग्वान्जु शहरका हिंसा मच्याएका थिए जहाँ धेरैको ज्यान गएको थियो । उनको विरुद्ध ६ सयभन्दा बढी नागरिकले प्रदर्शन गरेका थिए र उनले सेना लगाएर ती नागरिको हत्या गरेका थिए ।

‘कोरियन हेराल्ड’ले जनाए अनुसार २६ एनजीओले पनि सामूहिक विरोध गर्दै मोदीलाई ‘मोदी अर्थतन्त्र’ को लागि सिओल शान्ति पुरस्कार दिनु र ह्वानलाई दिनु उस्तै रहेको भन्दै प्रदर्शन गरेका थिए । उनीहरुले मोदीलाई दिइएको सिओल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने माग राखेका थिए । उनीहरुले मोदीलाई त्यो पुरस्कार दिनु, पहिला पुरस्कार पाएकाहरुको अपमान गर्नु भएको बताएका थिए ।

उनीहरुले मोदीले भारतमा मुस्लिमहरुविरुद्ध हिंसा मच्चाएको आरोप लगाएका छन् । कोरियाको मानव अधिकार संस्थाले पनि मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००२ मा मुस्लिमविरुद्धको आन्दोलनमा एक हजारभन्दा बढी मुसलमानको ज्यान गएको र त्यसमा मोदी दोषी रहेको बताएको छ ।

मोदी सन् २००२ मा गुजरातमा मुख्यमन्त्री थिए । त्यतिबेला मुस्लिम विरोधी आन्दोलन गुजरातमा चलेको थियो र धेरैले ज्यान गुमाएका थिए । तत्कालीन समयमा भारतको उच्च अदालतले मोदीलाई ‘आधुनिक नेरो’को संज्ञा दिएको थियो । मोदीलाई आफ्नो राज्य गुजरातमा हिंसा भड्किरहँदा मुकदर्शक बनेको, हिंसा रोक्न र हिंसा फैलाउनेमाथि कारबाही गर्न कुनै पहल नगरेको आरोप लागेको थियो ।

सियोल शान्ति पुरस्कारमा भारतीय प्रधानमन्त्री मोदीलाई अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन लागिपरेको, विश्व अर्थतन्त्रमा योगदान दिएकोे, भारतमा तीव्र आर्थिक विकास गरेको तथा भ्रष्टाचारविरुद्धको कदम चालेको साथै सामाजिक एकता कायम गरेको भनेर छनोट गरिएको थियो ।

प्रतिकृया दिनुहोस