अमेरिकी मध्यावधि निर्वाचनः ट्रम्पको अग्निपरीक्षा

कार्तिक १७ । संयुक्तराज्य अमेरिकामा यही नोभेम्बर ६ अर्थात् कात्तिक ६ गते मंगलबारका दिन मध्यावधि चुनाव हुँदैछ । यो चुनाव अमेरिकी प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति हुन लागेको हो ।

 

हाल अमेरिकी दुवै सदनमा बहुमतमा रहेको रिपब्लिकन पार्टीले बहुमत जोगाउने कसरतमा सम्पूर्ण शक्ति लगाएको छ । अन्तर्राष्ट्रिय सन्चारमाध्यम एवं चुनावी मतसर्वेक्षणमा रिपब्लिकन पार्टीले फेरि दुवै सदनमा बहुमत ल्याउनसक्ने देखाएका छन् । अमेरिकी ४३५ सदस्यीय तल्लो सदन प्रतिनिधिसभामा हाल रिपब्लिकन पार्टीको २३५ र डेमोक्र्याटिक पार्टीको १९३ स्थान छ । सात स्थान रिक्त छ । यसपटक यी सबै स्थानमा चुनाव हुँदैछ ।

 

तर, १०० सदस्य रहने माथिल्लो सदन सिनेटमा ३५ स्थानका लागि चुनाव हुँदैछ । अमेरिकी नीति निर्माणमा निकै महत्वपूर्ण मानिने सिनेटमा हाल रिपब्लिकन पार्टीको ५१, डेमोक्र्याटिक पार्टीको ४७ र स्वतन्त्र २ स्थान छ । अर्थात् सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ । यस चुनावमा ३५ स्थानका लागिमात्र चुनाव हुनेछ । अमेरिकी सिनेटमा प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यका लागि चुनाव हुने संवैधानिक प्रावधान छ ।

 

यस चुनावमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधित्व गरेका २३ स्थान, रिपब्लिकनले प्रतिनिधित्व गरेका ८ स्थान र स्वतन्त्र दुई स्थानका लागि चुनाव हुनेछ । साथै, रिक्त भएका दुई स्थानमा पनि चुनाव हुनेछ । यसैगरी, अमेरिकाका विभिन्न ३६ राज्य र तीनओटा अधिकृत क्षेत्र (टेरिटोरिज)मा गभर्नर पदका लागि चुनाव हुँदैछ ।

चुनावको महत्व

अमेरिकी संसदको चुनावको नतिजा खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अत्यन्त महत्वपूर्ण रहेको छ । यो चुनावमा संसदमा रिपब्लिकन पार्टीले बहुमत गुमाएमा राष्ट्रपति ट्रम्पका धेरैओटा महत्वाकांक्षी योजना अलपत्र पर्नेछन् ।

 

डेमोक्र्याटले बहुमत हासिल गरेको खन्डमा राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपतीय चुनावका सम्बन्धमा भइरहेको छानबिनले नयाँ मोड लिने र अन्ततः संसदमा महाभियोगको प्रस्तावसम्म आउने अड्कलबाजी भइरहेका छन् । त्यही कारण राष्ट्रपति ट्रम्प दिनरात चुनावी प्रचारमा व्यस्त छन् । ट्रम्पले चुनावीसभामा खासगरी डेमोक्र्याट पार्टीका सबैजसो नीतिको कडा शब्दमा आलोचना गरेका छन् ।

 

खासगरी उदार अर्थ व्यवस्था र आप्रवासी नीतिमा डेमोक्र्याटिक पार्टीले लिएका नीति मुलुकको अहितमा रहेको उनको ठम्याइ छ । होन्डुरसबाट पलायन भएका करिब सात हजार मानिस अमेरिका प्रवेश गर्ने भन्दै मेक्सिको–अमेरिका सीमातर्फ अघि बढेको र तिनीहरुलाई डेमोक्र्याट्सले मद्दत गरेको उनको आरोप छ ।

अमेरिका प्रवेश गर्न चाहने यो समूहलाई रोक्न ट्रम्पले दक्षिणी सीमामा ठूलो संख्यामा फौज पठाएका छन् । उनले कुनै आप्रवासीले अमेरिकी सैनिकमाथि ढुंगामुढा गरे गोली चलाउने आदेश दिइएको बताएका छन् । अमेरिकामै रहेका आप्रवासीमाथि पनि डेमोक्र्याटले अनावश्यक संरक्षण दिएको ट्रम्पको भनाइ छ ।

 

अझ, ट्रम्पले आप्रवासीबाट जन्मने बालबच्चालाई अमेरिकी नागरिकता दिने विगतको अमेरिकी नीति खारेज गर्ने चेतावनीसमेत दिएका छन् । आप्रवासीका सम्बन्धमा आफ्ना नीतिको कार्यान्वयन गर्न ट्रम्पसँग संसदको बहुमत आफूसँग हुनुको विकल्प छैन ।

मतसर्वेक्षण

‘फाइनान्सियल टाइम्स’ले गरेको पछिल्लो मतसर्वेक्षणमा अमेरिकी संसदको दुवै सदनमा रिपब्लिकन पार्टीले झिनो बहुमत हासिल गर्ने सम्भावना रहेको देखाएको छ । अमेरिकी सिनेटमा यसपटक चुनाव हुने ३५ स्थानमध्ये २३ स्थान डेमोक्र्याट्स पार्टीका भएकाले डेमोक्र्याट्स पार्टीलाई आफ्नो स्थान जोगाउनुपर्ने चुनौतीमात्र होइन, रिपब्लिकन पार्टीले जितेका स्थान पनि जित्नुपर्ने चुनौती छ ।

 

फाइनान्सियल टाइम्सकाअनुसार डेमोक्र्याट्सले ४३ स्थानमा र रिपब्लिकनले ४९ स्थानमा विजयी हुने प्रबल सम्भावना छ । बाँकी ८ स्थानमा को विजयी हुन्छ, निर्णय गर्न कठिन रहेको बताइन्छ । डेमोक्र्याट्सले यसअघि सिनेटमा विजयी गरेका स्थानमा ट्रम्पले सन् २०१६ मा ठूलो विजय हासिल गरेकाले पनि डेमोक्र्याट्समाथि चुनौती बढेको हो ।

 

आर्थिक परिसूचक

राष्ट्रपति ट्रम्पले दाबी गरेझैं अमेरिकी अर्थतन्त्रमा ४.२ प्रतिशतको आर्थिक वृद्धि भइरहेको छ । बेरोजगारी दर घटेको छ र अमेरिकी अर्थतन्त्रको झलक दिने न्यूयोर्क स्टक एक्सचेन्जका परिसूचक सकारात्मक छन् । ट्रम्पले लिएका आर्थिक नीतिले अमेरिका र विश्वमै फेरि आर्थिक मन्दी आउने अर्थविद्हरुको भनाइ रहेपनि त्यस्तो अनुमान सही रहेन । यो मध्यावधि चुनाव ट्रम्पका आर्थिक नीतिमाथिको जनमतसंग्रहकारुपमा पनि हेर्ने गरिएको छ ।

 

ट्रम्पलाई रुचाउने मानिसको सर्वेक्षणमा ‘रेटिङ’ ५० प्रतिशतभन्दा तलै छ अर्थात् आधाभन्दा कम अमेरिकीलेमात्र उनलाई रुचाएको देखिएको छ । रेटिङमा तलै परेपनि ‘राष्ट्रवादी’ ट्रम्पको खरो र आक्रामक प्रस्तुतिले अन्तिममा मतदातालाई आफूतिर आकर्षित गर्ने सम्भावना छ ।

विभाजनकारी मनोदशा

अमेरिकी चुनावमा कतिपय नीतिलाई लिएर चर्को बहस, छलफल र विचार–विमर्श हुनु अनौठो होइन । तर, राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावी मनोदशा र प्रवृत्तिमै फरक शैली ल्याएको आरोप लाग्न थालेको छ । अमेरिकी समाजको जग नै विभक्त हुनथालेको अमेरिकी सन्चारमाध्यमको भनाइ छ ।

 

केही दिनअघिमात्र एकजना ट्रम्प समर्थकले डेमोक्र्याट्स पार्टीका सबै शीर्ष व्यक्ति र पूर्वराष्ट्रपतिका घर एवं सीएनएनको कार्यालयमा हुलाकमार्फत् बम पठाएर आतंकित बनाए । अर्का एक व्यक्तिले यहूदीविरोधी नीतिको अन्ध समर्थनमात्र गरेनन्, पिट्सबर्गमा १२ जना यहूदीको गोली हानी हत्यासमेत गरे ।

गोराको बर्चश्व अमेरिकामा गुम्दै गएकाले त्यसलाई पुनर्जीवित तुल्याउनु पर्दछ भन्ने समूहले बेलाबखत अमेरिकाभर नै जुलुस निकाल्न थालेको छ र त्यसलाई ट्रम्पले खुलेआम समर्थन गरेका छन् ।

 

कैयौं प्रबुद्ध व्यक्ति, सेलिब्रेटी, विपक्षी नेता, आलोचक र मिडियामाथि उनले दिनरात ट्वीटमार्फत् गर्ने कटाक्षले अमेरिकी समाजको आधारभूत सिद्धान्त र मान्यतालाई नै कठघरामा उभ्याएको छ ।

प्रतिकृया दिनुहोस