भक्तपुरमा मखमली फुलको माला बनाउने चटारो

भक्तपुर  कात्तिक १५ । तिहार नजिकिंदै गर्दा भक्तपुरका किसानहरुलाई अहिले फूलको माला बनाउने चटारो परेको छ ।भक्तपुरमा उत्पादित मखमली फूलको माला विदेशमा समेत लोकप्रिय बन्दै छ ।

 

 

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिंदै गर्दा भक्तपुरमा मखमली फुलको माग ह्वात्तै बढेको छ ।तिहारमा दिदीबहिनीले दाजुभाइलाई कहिल्यै नओइलाउने मखमली फूलको माला लगाएर आर्शिवाद दिने गर्दछन् ।जेठमा रोपेको मखमली फूल भदौकोदेखि नै टिपेर माला गाँसी झुण्ड्याएर राख्ने प्रचलन पनि छ ।भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका किसानहरुलाई अहिले फूलको माला बनाउन चटारो नै परेको छ ।

 

 

उनीहरुले एक रोपनीदेखी पाँच रोपनी जग्गामा मखमली, सयपत्री लगायतका फूलहरु लगाएका छन् ।जग्गा भाडामा लिएरसमेत केही किसानहरुले मखमली फूलको खेती गर्दै आएका छन् ।आधा रोपनी जग्गामा मखमली फुल लगाएका किसानहरुले दुई हजार बराबर माला तयार भएको बताउँछन् ।चाँगुनारायण नगरपालिको ६ र ९ तथा सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ मा व्यवसायीक रुपमा मखमली फूलको खेती हुदैं आएको छ ।

 

 

भक्तपुरका कृषकले मखमली फूल बिक्रिका लागि काठमाडौंको असन र कालीमाटी लैजाने गरेका छन् ।घरबाट नै व्यापारीहरुले प्रति माला १८ देखि २० रुपैँयामा खरिद गरेर लैजाने गरेको स्थानीय कृषक बताउँछन् ।यहाँका एक कृषकले यो सिजनमा मात्र मखमली फूल बिक्री गरेर ३० हजारभन्दा बढी  आम्दानी गरेका छन् ।

 

 

तिहारमा मात्र प्रयोग हुंदै आएको मखमली फूल पछिल्लो समय छठ पर्वका लागि समेत माग हुन थालेपछि कृषकहरु यो व्यवसायतर्फ बढी आकर्षित भएका हुन् ।भक्तपुरको मखमली फूलको माग स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै छ । अर्कोतर्फ मखमली फूलको बिरुवा जोगाउनै मुश्किल पर्ने कृषकहरु बताउँछन् ।जरा कुहिने, डढुवा रोग लाग्ने र औषधी तथा भिटामिनको प्रयोग अत्यधिक गर्नुपर्ने हुँदा खटेअनुसार मूल्य नपाएको गुनासो कृषकहरुको छ ।

प्रतिकृया दिनुहोस