प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार ।

कार्तिक १४ । स्वास्थ्यमा केही सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक काम सुरु गर्नुभएको छ ।

 

सोमबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएपछि बुधबार बिहानदेखि अनौपचारिक बैठकमा सरिक हुनुभएको हो । 

 

उपचारमा संलग्न मुटुरोग विशेषज्ञ तथा सेन्टरका कार्डियोलोजी विभाग प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीले प्रधानमन्त्री ओलीलाई मंगलबार राति राम्रो निन्द्रा लागेको तथा बिहान अस्पतालमा नै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग सानो अनौपचारिक मिटिङ गर्नुभएको जानकारी दिनुभयो ।

 

यद्यपी एन्टिबायोटिक औषधिको कोर्स पूरा नहुन्जेल केही दिन प्रधानमन्त्रीलाई अस्पतालमा नै विशेष निगरानीमा राखिने बताउनुभयो ।

 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा निकै सुधार आएपछि उपचारमा संलग्न चिकित्सक पनि खुशी देखिन्थे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन बुधबार बिहान अस्पताल परिसरमा गरिएको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा आएको सुधारले आफूहरुको अनुहारमा खुशी छाएको बताउनुभयो ।

 

प्रधानमन्त्रीको उपचारमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागका प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टर सन्त दास सम्मिलित टोली संलग्न छ । डाक्टर सिंह प्रधानमन्त्रीकी निजी चिकित्सक पनि हुनुुहुन्छ ।

प्रतिकृया दिनुहोस