अनौठो कला - नाकले मुरली बजाउने, त्यो पनि अनेक अनेक भाकामा।

 असोज २४ । पेसाले उनी नेपाल विद्युत प्राधिकरणका इलेक्ट्रिसियन हुन्। २०४२ सालमा इलाम–दमक विद्युतीकरण आयोजनामा ज्यालादारी काम सुरु गरेका उनी २०५२ सालमा करारका इलेक्ट्रिसियन भए भने २०६१ सालमा स्थायी। जागिरका सिलसिलामा उनी पोखरा, दमौली, लेखनाथ, बुटवल, इलाम हुँदै अहिले गृहजिल्ला झापाको बिर्तामोडमा कार्यरत छन्। विद्युत प्राधिकरणको एउटा जागिरेभन्दा लेखक, वाद्यवादक र संगीतकर्मीको पहिचान बनाएका छन्, मातृकाप्रसाद संग्रौलाले।  २०२५ जेठ १५ मा पाँचथरको सुभाङमा जन्मिएका उनी हाल मेचीनगर नगरपालिका-१२ सहरेडाँगीमा बसोबास गर्छन्।

 

कार्यालय समयमा जिम्मेवारी सम्हाल्नुबाहेक खाली समय उनको साहित्य र संगीतमा बित्छ- त्यो पनि नयाँनयाँ प्रयोगसहित। उनको अनौठो कला छ- नाकले मुरली बजाउने, त्यो पनि अनेक अनेक भाकामा। त्यसबाहेक मुखले हार्मोनियम बजाउने कला पनि छ उनीसँग। सारंगी, सहनाईं, एकतारे, मुरली, बाँसुरी, मुर्चुङ्गा, बिनायो, राधाकुटी, ढ्याङ्ग्रोजस्ता लोकबाजा बनाउन पनि माहिर छन् उनी। मुरली, बाँसुरी र मुर्चङ्गा त उनी जहाँ पुग्छन्, सँगै झोलामा हुन्छन्।

 

बाजा बजाउने मात्रै होइन, उस्तै शब्द पनि बुन्छन् उनी। ‘जहाँ पुगे पनि यो झोला र यी बाजा अनि डायरी र डटपेन छुट्दैन’, आफ्ना बाजागाजाले भरिएको झोला देखाउँदै उनले भने, ‘केही शब्द फुर्‍यो भने टिपिहाल्छु अनि फुर्सदका बेला त्यसमा संगीत भर्छु।’ झापामा हुने विभिन्न कार्यक्रमहरूमा आफ्नो प्रस्तुति देखाउँदै आएका उनलाई अचेल कर्मचारी भन्दा पनि नाकले मुरली बजाउने बाजे भनेर चिन्छन्। बाबुको निधनपछि मात्र भित्रियो सहनाईं पञ्चेबाजा समूहमा पर्ने बाजा हो- सहनाईं। नेपाली मौलिक बाजामध्येको एक। तर अझै पनि यो जाति विशेषको बाजा भनेर चिन्ने धेरै छन्। झनै मातृकाका बाबु धनपति हुर्किएको बेला त यसलाई माथिल्लो जातिका भनिएकाले मुखैमा हाल्नुहुँदैन भन्ने मान्यता थियो।

 

 

 

तर बाबुको मान्यता र परिवारको आँखा छल्दै उनले त्यही सहनाईं पनि बजाउन सिके। दमाईं जातिले बजाउने भनिएको त्यो बाजा बजाएको बुबाले थाहा पाए घरैमा पस्न दिने थिएनन्। यस्तै पुर्ख्यौली रूपमा गन्धर्व जातिले बजाउने सारंगी पनि बजाउन सिके। तर यो कुरा उनका बुबालाई निको लागेन। ‘पछि त बुबाले सहनाईं र सारंगी पनि बजाउँछ केटाले भन्ने थाहा पाउनुभएछ’, बुबाको हप्की सम्झँदै उनले भने, ‘नबजा भनेको टेरिनस्, अब म बाँचुन्जेल घरभित्र हुल्नचाहिँ पाउँदैनस् भन्नुभयो बुबाले। मैले पनि बुबाको चित्त दुखाउन चाहिनँ।’ २०७२ सालमा बुबाको निधनपछि मात्र सहनाईं र सारंगी घरभित्र हुलेको उनले बताए। 

 

बुबाको ढ्याङ्ग्रो र आमाको संगिनी पहाडमा चाँपाबोटे संग्रौला भनेर चिनिएका थिए उनका बुबा। नाम धनपति भए पनि धनले कहिल्यै साथ दिएन। बुबा ढ्याङ्ग्रो ठोकेर धामी बस्थे। सानैदेखि उनलाई बुबाले ढ्याङ्ग्रो ठोकेको र फलाकेको हेर्न खुब रहर लाग्थ्यो। बुबाकै नक्कल गर्दागर्दै उनले पनि उसैगरी ढ्याङ्ग्रो ठटाउन सिके। आमा दमन्ता पनि भाका हालेर संगिनी गाउँथिन्। नेपालको पूर्वी क्षेत्रमा विभिन्न शुभकर्महरूमा महिलाहरू समूह बनाएर भाका हाल्दै संगिनी गाउने चलन अचेल भने नौलो लाग्दै गएको छ, हुर्किको पुस्तालाई। तर उनले आमाले गाउँघरमा संगिनीमा हालेको भाका टपक्कै टिपे। ‘

 

ढ्याङ्ग्रोको संगीत र आमाको संगिनीले मलाई उहिल्यै तानेको थियो क्या’, ख्याउटे ज्यानका मातृकाले भने, ‘त्यही मोह अहिले त मेरो नशाजस्तै भएको छ।’ उनी अहिले समूह बनाएर गाउँघरमा हुने भजन कीर्तनमा भाका हाल्न पुग्छन्। बाजागाजा पनि उसै गरी रौसिएर बजाउने गरेका छन्। निम्ता मान्नै पनि उनलाई भ्याइनभ्याइ छ।  कृति प्रकाशनमा प्रयोग १० कक्षासम्मको औपचारिक अध्ययन गरेका उनले संगीतमा मात्र होइन, साहित्यमा पनि स्वअध्ययन गरेका छन्। अध्ययन मात्र गरेका छैनन्, विभिन्न नौला प्रयोग पनि गरेका छन् साहित्यमा।

 

हरेक कृतिको जोडी बाँधिदिएका छन् उनले। ‘कृति त अरूले पनि निकालेका छन्’, आफ्नो प्रयोग र अभ्यासबारे उनले खुलाए, ‘तर हरेक कृतिको जोडीचाहिँ अरूले जोडिदिएका छन् जस्तो लाग्दैन।’ उनले 'प्रभु सत्भक्ति लोकभजनमाला' निकालेका छन्। त्यसको जोडी उनले 'आनन्द लहरी' नामक सिडी निकाले। यस्तै, 'देवीदर्शन भक्तिभजन'को जोडी 'तन मन वचन भक्तिभजन' सीडीसँग बाँधिदिएका छन्। 'अमूल्य मानवजीवन' छन्दकविता कृतिको जोडीको रूपमा पनि सिडी निकालेका छन्- 'शुभशान्ति' कवितावाचन सिडी। 'पर्व कोसेली' गीतिसंग्रह निकालेका उनले त्यसको जोडीको रूपमा 'बिछोडको पीडा' अडियो-भिडlयो कृति तयार पारेका छन्। अझ नौलो कुरा के छ भने उनले आफ्ना हरेक कृतिको जोडी मात्र बाँधिदिएका छैनन्, एक कृतिको त चिना पनि तयार पारेका छन्। '

 

मिहिनेतका मुठी, 'साँचो ठिकुटी' नामको उनको निबन्धकृतिको चिना पनि उनले बजारमा ल्याए। आफूमा ज्योतिषीय ज्ञान नभएकाले पुस्तकको चिना भने ज्ञानेन्द्र खरेललाई लेखाएको उनले बताए। उनको निबन्धसंग्रहको चिना पनि पुस्तकाकारमै छ। नाफाको जिन्दगी उनी हाल बाँचिरहेको जिन्दगीलाई नाफाको जिन्दगी भन्छन्। तीन पटकसम्म करेन्ट लागेर जीवन पल्लो छेउ पुग्दा पनि जाती भएर जिउन पाएको भन्दै उनले भने, ‘दिन आएको रहेनछ, तीन पटक मरेको ठानिएको मान्छे पनि बाँचेर जीवन जिइरहेको छु।’ २०४७ सालमा ट्रान्सफर्मर पड्किँदा उनी यति घाइते भए कि परिवारले पनि एक हदसम्म माया मार्‍यो। तर, काठमाडौंमा लगेर उपचार गरेर छ महिनापछि उनी काममा फर्कन सफल भए। उनी सवारी चालक पनि हुन्।

 

इलामको किटेनी भन्ने स्थानमा गाडी चलाउँदै गरेका बेला गाडी बल्ड्याङ् खाएर झाडीमा पुग्यो। निकाल्न क्रेन नै चाहियो। त्यस बेला पनि दुई साता थला परे उनी। त्यसपछि २०४९ सालमा काठमाडौंको ग्वार्कोमा विद्युत लाइन जोड्ने क्रममा करेन्ट लागेर खेतमा पछारिएका उनी उठ्न एक साता लाग्यो। ‘म पटक पटक मृत्युको मुखमा पुगेर फर्किएको मान्छे हुँ,’ उनले भने, ‘मलाई त लाग्छ, यो मेरो नाफाको जिन्दगी हो, त्यसैले जति सकिन्छ, राम्रो काम गरेर यो जीवन बिताऊँ।’ 
 

प्रतिकृया दिनुहोस