राष्ट्रपति कार्यालयको नयाँ भवन बन्दै ।

काठमाडौँ, असोज २३ । राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ ।  हाल राष्ट्रपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यालय तथा राष्ट्रपति निवास निर्माण हुन लागेको हो । 

 


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राष्ट्रपति कार्यालयमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार र संरचनाहरू अहिलेको राष्ट्रपति कार्यालयमा कमी देखिएकोले अत्याधुनिक संरचनासहितको नयाँ राष्ट्रपति कार्यालय निर्माण हुन लागेको जानकारी दिनुभयो । 

 

राष्ट्रपति कार्यालयको नयाँ भवन निर्माणका लागि मन्त्रिपरिषद्ले समेत निर्णय गरिसकेको जनाइएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसारको राष्ट्रपति कार्यालय निर्माण प्रक्रिया यथाशीघ्र सुरु गर्न राष्ट्रपति कार्यालयबाट निर्देशन समेत आइसकेको जानकारी उहाँले दिनुभयो ।

 


मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति कार्यालयको २०७ रोपनी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी जग्गामा राष्ट्रपति कार्यालयका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार र संरचनासहितको कार्यालय निर्माण गरिने छ । अबको डेढ वर्षभित्र अहिलेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा खाली हुने जानकारी समेत उहाँले दिनुभयो ।

 


नयाँ राष्ट्रपति भवन निर्माणका लागि परामर्शदाता समेत छनौट भइसकेको जानकारी सहसचिव मानन्धरले दिनुभयो । उहाँका अनुसार परामर्शदाताले अहिले ‘डिजाइन’ र लागत इस्टिमेटको काम गरिरहेको छ । विल्डिङ डिजाइन अथोरेटी ९बिडीए० लाई प्रस्तावित नयाँ राष्ट्रपति कार्यालयको परामर्शदाताको रूपमा चयन गरिएको जानकारी समेत उहाँले दिनुभयो ।

 


राष्ट्रपति कार्यालय निर्माण प्रक्रिया सुरु भइसकेको जानकारी दिंदै उहाँले ‘डिजाइन’ र लागत इस्टिमेटको काम सम्पन्न भइसकेपछि प्रस्तावित कार्यालयको ‘मोडेल’, लागत अनुमान र निर्माण अवधिबारे यकीन हुने बताउनुभयो । प्रस्तावित नयाँ राष्ट्रपति कार्यालयमा विदेशी पाहुनालाई सम्मान गारद प्रदान गरिने ठाउँसमेत निर्माण गरिने जानकारी उहाँले दिनुभयो ।


नौ महिनाअघि राष्ट्रपति कार्यालयका तत्कालीन सचिव, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र भवन विभागका प्रतिनिधिबीचको छलफलले नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यालय निर्माण गर्ने अवधारणा ल्याएको जानकारी सहसचिव मानन्धरले दिनुभयो ।


प्रहरी प्रतिष्ठान पनौतीमा
नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापाले महाराजगञ्जस्थित अहिलेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गामा राष्ट्रपति कार्यालय निर्माण गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी प्राप्त भएको बताउँदै काभ्रेको पनौतीमा रहेको नेपाल प्रहरीको जग्गामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सर्ने जानकारी दिनुभयो । 


पनौतीमा नेपाल प्रहरीको आठसय रोपनी जग्गा रहेको छ । सो जग्गामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि गुरुयोजना बनाउन नेपाल र भारतबीच सहमतिपत्र ९एमओयु०मा हस्ताक्षर भइसकेको जानकारी समेत प्रहरी प्रवक्ता थापाले दिनुभयो ।

प्रतिकृया दिनुहोस