घाममा बसेर काम गर्नेलाई मोतिविन्दुको समस्या ।

असोज २२ । नेपालीहरुको आँखामा मोतिविन्दुको समस्या बढ्दै गएको छ । घाममा बसेर काम गर्नेलाई मोतिविन्दुको समस्या बढी हुने गरेको छ । नेपालका ८० प्रतिशत ज्येष्ठ नागरिक यसबाट प्रभावित भएको अनुमान छ । ओखलढुंगा, सिस्नेरीकी ६९ वर्षीया कमसरी राईलाई तीन वर्षअघिदेखि आँखामा समस्या देखियो । विस्तारै आँखा नदेख्ने भएपछि जीवनयापन गर्न उनलाई समस्या हुँदै गयो ।

 

तर, गत शुक्रबार आँखाको शल्यक्रिया गरेपछि उनले नयाँ जीवन पाएको महसुस गरिन् । काठमाडौंको तीलगंगा आँखा अस्पतालले सिन्धुलीको फिक्कल गाउँपालिकामा गरेको मोतिविन्दुको निःशुल्क शल्यक्रियाबाट कमसरीले गुमेको आँखाको ज्योति पाउनु भएको हो ।  कमसरीजस्तै दुई वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका धनुषाका ६५ वर्षीय मनोजकुमार यादव पनि शल्यक्रियापछि आँखा देख्नसक्ने भएका छन् ।

 

सुरक्षा गार्डको काम गर्ने मनोज अब भने काम गरेरै खानसक्ने अवस्थामा पुगेको भन्दै खुसी भएका छन् ।तीलगंगा अस्पतालले गरेको दुईदिने निःशुल्क शिविरमा मोतिविन्दुको शल्यक्रियाबाट १३२ जनाले पुनः आँखाको ज्योति पाएका छन् । मोतिविन्दुको समस्या ५० वर्षमाथिका ८० प्रतिशतमा देखिने गरेको छ । आँखाको नानी वरपर देखिने सेतो बादल अथवा सेतो धब्बालाई मोतिविन्दु भनिन्छ ।

 

सामान्यतयाः बढ्दो उमेरसँगै आँखाका नानी कम लचिलो, कम पारदर्शी तथा मोटो हुने गर्छ । जसले गर्दा लेन्समा भएका प्रोटिन एकै ठाउँमा बस्नाले आँखाको नानी वरपरका भागमा बादल लाग्ने गर्छ । विस्तारै आँखा देख्न कम हुँदै जाने नानीरोग विशेषज्ञ डा। रचना सिंहले जानकारी दिनुभयो  । एकपटक मोतिविन्दुको शल्यक्रिया गरी नयाँ लेन्स राखेपछि जीवनभर आँखा देख्न सकिन्छ । तर, मोतिविन्दु भएको लामो समयसम्म शल्यक्रिया नगर्ने हो भने जलविन्दुको समस्या देखिन्छ थाल्छ र आँखाको ज्योति फर्काउन सकिँदैन ।

 

बच्चा गर्भमा रहेको तीन महिनाभित्र आमालाई कुनै रोग देखियो भने शिशुलाई पनि मोतिविन्दु हुने सम्भावना रहने डा। सिंहले बताइन् । घाममा काम गर्ने मानिसमा यो समस्या बढी देखिने भएकाले उमेर बढ्दै गएपछि बाहिर हिँड्दा चस्मा लगाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस