विराटनगरमा ५० तल्ले भ्यू टावर निमार्ण तयारी ।

असोज २१ । (अनिश्चित भएको भ्यू टावर अन्ततः अब बन्ने भएको छ । महानगरले विराटनगरमा ५० तल्ले भ्यू टावरको निमार्ण गर्ने तयारी सुरु गरेको छ । सत्यनारायण मन्दिर व्यवस्थापन समितिले ९९ बर्षको लिजमा भ्यू टावर निर्माणको लागी २ बिगाहा ८ कठ्ठा जमीन उपलब्ध गराएसँगै भ्यू टावर बन्ने पक्का भएको हो ।

 

व्यवस्थापन समितिका अध्यक्ष बल्लभ अधिकारी , संरक्षक सल्लाहाकार एवं पूर्व सचिव किशोर थापाले महानगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीलाई एक समारोहका बीच जग्गा हस्तान्तरण गरेका हुन् । बिराटनगर—३ स्थित औषधि व्यवस्था कार्यालय नजिक धरान रोडसँग जोडिएको सो जग्गा आयल निगम कार्यालय नजिकै पर्दछ ।

 

मेयर पराजुलीले भ्यू टावर निर्माणको डीपीआर सुरू गरेर भवनको डीजाईन चाडै गरिने बताए । ५० तल्ले भ्यू टावर भित्रै रेष्टुरेन्ट र वरपर रमणिय पार्क बन्नेछ । भ्यू टावरकै जग्गामा औद्योगिक पर्दशनी स्थलको समेत निर्माण गरिनेछ । विराटनगर औद्योगिक राजधानी भएर पनि एउटा पनि औद्योगिक पर्दशनी स्थल रहेको छैन ।

 

 टावर निर्माणको लागी संघीय सरकारले ५० करोड रूपैया सहयोग उपलब्ध गराउने वचन यसअघि नै दिएको मेयर पराजुलीले जानकारी दिए । पर्यटकीय पूर्वाधारको अभाव खडकिरहेको महानगरमा भ्यू टावरको निर्माणलाई महत्वका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस