कचनकवलका विद्यार्थीलाई ‘भाग्य बोक्ने झोला’ वितरण

कचनकवल,असोज २०। भारतसँग सीमा जोडिएको झापाको दक्षिणी गाउँपालिका कचनकवल–६ स्थित दारुल आधारभूत विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई ‘भाग्य बोक्ने झोला’ वितरण गरिएको छ ।

 

विद्यालयमा आर्थिकस्तर न्यून भएका परिवारका विद्यार्थी अध्ययन गरिरहेको थाहा पाएपछि कचनकवल गाउँपालिका र पहिलो पाइला नेपाल नामक सामाजिक संस्थाले ‘भाग्य बोक्ने झोला’ कार्यक्रमअन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको हो । यस विद्यालयमा अध्ययनरत् सबै विद्यार्थी आर्थिकस्तर अत्यन्तै न्यून भएका परिवारका छन् । यहाँ अध्ययनरत् २ सय १५ विद्यार्थीमा ८५ प्रतिशत मुसलमान र १५ प्रतिशत राजवंशी समुदायका हुन् ।

 

सामाजिक संस्था पहिलो पाइला नेपालले ३६ र कचनकवल गाउँपालिकाले १ सय ७९ जना विद्यार्थीलाई स्कूल ब्याग, कापी, पेन्सिल, पानी पिउने बोतल, टिफिन बक्स लगायत सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र लिङ्देनले विद्यार्थीलाई यी सामाग्री वितरण गरे । पहिलो पटक शैक्षिक सामाग्री पाउँदा विद्यार्थी पनि दंग देखिन्थे ।

 

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने योजना पहिलो पाइला नेपालले बनाएको हो । यस सामाजिक संस्थाले विद्यार्थीका लागि ‘भाग्य बोक्ने झोला’ वितरण कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गरिरहेको संस्थाका झापा अध्यक्ष कृष्ण अग्रवालले बताउनुभयो । पहिलो पाइला नेपाललाई बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेशन तथा द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले शैक्षिक सामाग्री जुटाउन सहयोग गरेको थियो ।

 

३६ जना विद्यार्थीका लागि आफूले ६५ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री जुटाइदिएको कन्सल्टेन्सीका प्रमुख खड्ग ताम्लिङले बताउनुभयो । कार्यक्रमबारे थाहा पाएपछि कचनकवल गाउँपालिकाले बाँकी सबै विद्यार्थीका लागि स्कूल ब्याग तथा अन्य शैक्षिक सामाग्री जुटाएको हो ।

प्रतिकृया दिनुहोस