दरबन्दीको व्यवस्था नहुँदा दन्त स्वास्थ्य प्राविधिकहरु कामविहीन । 

असोज  १९ । सरकारी स्वास्थ्य सेवामा दन्त सहायक, दन्त प्राविधिक र हाइजेनिस्टको दरवन्दी व्यवस्था नहुँदा उत्पादित जनशक्ति खेर गईरहेको छ ।

 

सिटिईभिटी अन्तर्गतको तीन बर्षे डिप्लोमा पढेर आएका दन्त हाइजेनिस्टहरुलाई सरकारले वेवास्ता गरेको उनीहरुको गुनासो छ ।

 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानो ठिमी भक्तपुर अन्तर्गत तीन बर्षे सर्टिफिकेट इन डेन्टल साइन्स पढेका १ हजार दन्त हाइजेनिस्ट, टि एसएलसी अन्र्तगतको डेन्टल सहायक पढेका ५ सय २० जना र ८० जना दन्त प्राविधिकले स्वास्थ्य व्यवसायी परिषद्बाट लाईसेन्स लिए पनि काम पाउन सकेका छैनन ।

 

सरकारी अस्पतालहरुमा दन्त चिकित्सक सँगै दन्त हाइजेनिस्ट समेत राख्नु पर्ने नियम रहेको छ । तर सरकारले कुनै पनि अस्पतालमा उक्त दरबन्दीको व्यवस्था नगर्दा बर्षेनी उत्पादित जनशक्ति कामविहिन बनेको हो ।हाल सिटिईभिटीले तीन बर्षे सर्टिफिकेट इन डेन्टल हाइजेनिस्ट मात्र पठन पाठन गराई रहेको छ ।

 

स्वास्थ्य मन्त्रालयका वरिष्ठ चिकित्सक डा।सुशिल प्याकुरेल दातको साधारण उपचार गराउन सक्ने जनशक्तिलाई दुर दराजका स्वास्थ्य चौकीमा पठाउने हो भने पनि ग्रामिण क्षेत्रमा मुखको स्वास्थ्य सेवा दिन सकिने बताउँछन् ।

 

उता सरकारी चिकित्सकहरु भने दन्त साहायक , दन्तप्राविधिक र हाइजेनिस्टहरु डेन्टल चिकित्सक नभएको र उनीहरु आफनो सहयोगी मात्रै भएकाले दुर दराजमा सेवा दिन नसक्ने दाबी गर्दछन् ।

नेपालमा मुखको स्वास्थ्य सम्बन्धि विभिन्न समस्या बढ्दो क्रममा छ ।

 

मुख स्वास्थ्य कसरी गर्ने भनेर साधारण जनचेतना समेत नपाएको हाम्रो समाजमा दन्त हाईजेनिक नै पढेकालाई सरकारले उपयोग गर्न सके उत्पादिन जनशक्ति र सर्वसाधारणको हीत हुनेमा शंका छैन । 

प्रतिकृया दिनुहोस