अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको गोजिमा दाम छैन भिडियो रिलिज

  भदौ ६।अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘चङ्गा चेट’ को अफिसियल गीत इन्टरनेट रिलिज भएको छ  । सोमवार राजधानीका एक कार्यक्रमका बीच सार्वजनिक गरिएको 'गोजीमा दाम छैन...' बोलको गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर भरेका छन् । 

राजनराज स्वयमको संगीत रहेको गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा तीन जोडी फिचर्ड छन् । रियल झैं रिलमा पनि आयुष्मान र प्रियंकाको जोडी बाँधिएको छ । 

 

कलाकार रविन्द्र झासँग अभिनेत्री सुरक्षा पन्तको जोडी देख्न सकिन्छ भने कलाकार सन्दिप क्षेत्री र अभिनेत्री परमिता आरएल राणा जोडी छन् । गीतमार्फत् फिल्मको कथा प्रस्ट्याइएको छ । पैसा नहुने मान्छेको कुनै काम नहुने कुरा गीतले बोल्छ । 

 

माधव वाग्ले र शर्मिला पाण्डे निर्मित यस फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । फिल्म डार्क कमेडी रहेको निर्देशक खनालले बताए । उनी भन्छन्, 'बनिरहेका कमेडी फिल्मभन्दा ‘चङ्गा चेट’ केही फरक छ । हँसाउनकै खातिर कुनै पनि संवाद र दृश्य जर्बजस्ती राखिएको छैन ।' 

 

उनका अनुसार, काठमाडौं बसेर संघर्ष गरिरहेका पात्रको कथा फिल्मले बोल्नेछ । गीत सार्वजनिक गरेसँगै निर्माण टिमले फिल्मको नयाँ प्रदर्शन मिति पनि घोषणा गरेको छ । यसअघि भाद्र १५ गते आउने तय भएको यो फिल्मको रिलिज डेट अब कात्तिक १६ गतेलाई लक गरिएको छ । 

 

कार्यक्रममा फिल्मका प्रमुख कलाकारले छायांकन बेलाको रमाइला घट्नाहरु सम्झिए । सन्दिप भन्छन्, 'हामीलाई फिल्मको सुटिङ कहिले सकियो थाहा नै भएन । जति हामीले सेटमा इजोय गर्‍यौं दर्शकले त्यो भन्दा धेरै आनन्द प्राप्त गर्नुहुन्छ ।' 

 

 

फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यो फिल्ममा अर्जुन पोखरेलको पनि संगीत छ । निरक कँडेलको छायांकन रहेको फिल्मको सम्पादन दिर्घ खड्काले गरेका छन् । 

 

प्रतिकृया दिनुहोस