मनको अवलम्बीहरुका खास स्पर्शहरु

विकास अाचार्य, 
 ३ भदौ, २०७५\
अचानक आफ्नो सामाजिक सञ्जालको एउटा कुनामा ‘तपाईं चिन्नु हुन्छ कि ?’ भनेर उनको तस्बिर र नाम देख्दा प्रेमसागरको मनमा एउटा अनौठो तरङ्ग उत्पन्न भयो । दुई दशकदेखि मनमा गुम्सिएको आकर्षणको बिम्ब थियो । त्यो तस्बिर, मनमा अनेकानेक विजुली बत्ती बलेको अनुभूति हुने । एकाएक त्यो तेजले विजुली चम्कँदा आँखामा निमेषभर हुने उज्यालो बनाएर गयो ।
 
हो, बीस वर्षअगाडिदेखि टाढा गएकी आफ्नै छिमेकी मौनतालाई उसले आज भेटेको थियो । त्यो कृत्रिम संसारको रङ्गमञ्चमा आज वर्षौं पछि देख्दा पनि त्यो अनुहारमा भएको तेज र आकर्षणमा किञ्चित कमी आएको थिएन । कम्प्युटरमा ठूलो बनाएर हेर्दा होस् या अझ त्यसलाई ‘जुम’ गरेर हेर्दा होस्, त्यो कुनै हालतमा परिवर्तित मुहार लागेन उसलाई । उत्तिखेर नै पचासौं पटक मौनताको त्यो तस्बिर उसले त्यसरी हे¥यो ।
 
 
जबर्जस्त ढङ्गले मनमा बसेको आकर्षणको कुण्ठा अनि नयनको प्यास त्यति छोटो समयमा मेटिन सक्ने कुरा थिएन । त्यो बेलादेखि अहिलेसम्म उनलाई नजिकबाट हेर्ने जुन प्यास थियो, अचानक फेरि बढेर आयो । दुई दशक भनेको सानो अन्तराल हैन तर पनि उसको जीवन यात्राको क्रममा यति ठूलो समय बितेको पत्तो नै पाएको रहेनछ ।

धेरै पहिला, जीवनको एउटा फर्केर नआउने कालखण्डमा, यौवनको उन्मादले मस्त भएको बेला पहिलो विपरीतलिङ्गी आकर्षणको रूपमा मौनताले प्रेमसागरको आँखाको माध्यमबाट मुटुमा प्रवेश गरेकी हुन् । त्यो पलदेखि आजसम्म प्रेमसागरको त्यो निस्छल मुटुमा त्यही तस्बिर अमिट भएर अङ्कित भएको छ ।
 

 

कति खोज्यो उसले त्यसलाई मेट्न, अहँ सकेन । कुन मसीले छापिएछ त्यो तस्बिर, मनको हरेक कुनामा त्यही तरङ्ग पुगेको छ । लाग्छ, त्यो तरङ्ग ऊ स“गसँगै महाप्रस्थानको यात्रामा जान लालायित भएर बसेको छ । किशोरावस्थाको वैंशालु कल्पना, टाढाबाट उसले देखेको भरखर यौवनले चुम्न थालेको मौनताको देह, उनको तिर्सनामा बिताएका ती दिनहरु, अनि त्यो बेलाको उसका हरेक गतिविधिमा कहीँ न कहीँ उनी बसेकै हुन्थिन् ।

 

 
उसलाई त विश्वास छैन सम्झनाबाट पाइने आनन्दमा । सम्झना त एउटा ढोंग हो चित्त बुझाउने । वास्तविक आनन्द त बिर्सनुमा छ , तर बिर्सनु एउटा कठिन योग हो । मानिसले बिर्सन सिक्नु पर्छ सम्पूर्ण खराबीहरुलाई, कर्म क्षेत्रमा बिर्सिदिनु पर्छ आफ्ना कमजोरीहरुलाई र सधैँ सम्झना दिलाउने र बाधा गर्ने अतीतलाई बिर्सन बिर्सनु हुन्न । त्यसैले बिर्सन जान्नु मानिसको ठूलो विशेषता हो । अहा………..! कति आनन्द छ एउटा आदर्शको निमित्त स्वयम्लाई बिर्सिदिनुमा । तर ऊ किन बिर्सन सक्दैन उनलाई ?

 


त्यो बेलाको आकर्षण र मनले चाहेको कुरा व्यक्त गर्ने एक मात्र माध्यम् भनेको चिट्ठी ! आफ्नो मनको तमाम कुरा,आफ्नो माया पोखेर लेखेको हुन्थ्यो प्रेमसागरले मौनतालाई चिट्ठीहरु । उसका हरेक चिट्ठीहरुको जवाफमा उनले पठाउने जवाफी चिट्ठीहरुमा पनि त्यसैगरी आफ्नो मन पोखेर उसको हात लगाइदिएकी हुन्थिन् ।

 

 
केवल चिट्ठीहरुमा उनीहरु एक अर्कामा नजिक थिए । मनमा सामिप्यताको अथाह चाहना, मुटुमा उम्लिएको युवा र स्निग्ध मायाका छालहरु चिट्ठीबाट कहिले यथार्थमा निस्कन सकेनन् । किन किन अञ्जान भयले उनीहरुले त्यो आँट गर्न सकेनन् । कैयौं रातहरु अनिदो बिताएको छ प्रेमसागरले । पचासौं पटक, एक रातमा पढेको छ एउटा चिट्ठी ।
 

 

कहिले नजिक हुन नपाएको उनीहरुको अनौठो प्रेमकथामा सेतुको रूपमा रहेका हरेक चिट्ठीहरुभित्र पनि कुन तगारोले हामीलाई नजिक हुन र सामिप्यता प्राप्त गर्न रोकेको छ भन्ने कुरा व्यक्त भएका हुन्थे । मनमा मिलनको प्यास र आश जति बढे पनि त्यो ज्वारभाटाको छालले कहिले मूर्त हुन पाएन । नजिकबाट आफ्नो मनकी मलिकालाई नदेखेको वासनारहित मायाको यो अध्याय एक दिन अचानक काँच झैं टुक्रिएर चकनाचुर भएको थियो ।
 
 

 

त्यो दिन उसले आफ्नो मनोभावना पोखेको हृदयको सबै पन्नाहरु कागजको खोस्टो सरह फिर्ता पाएको थियो । ऊ जीवित लाशमा परिणत भएको थियो त्यो क्षण । संसार टक्क अडिएको थियो । सारा जगत् उसँगै किंकर्तव्यविमुढ भएको थियो । नदीको प्रवाह रोकिएको जस्तो उसको मस्तिष्कले आफ्नो कार्य गर्न पनि रोकेको थियो ।

 


त्यो दिनदेखि उसको मन साँच्चै मरेको थियो । उसको मायामा के त्यस्तो खोट भएछ त्यो नै थाहा पाउन सकेको थिएन । रात गए, दिन गए, भोक प्यासको आभास हरायो । तर मनबाट त्यो कुँदिएको प्रतीमा हट्न सकेन । कति मेट्न खोज्यो तर मेटिएन । केही दिनपछि नसाभित्र नशा बगाउँदा बिर्सन सक्छु कि भनेर नशाको शरणमा गयो । तर झन् चम्किलो भएर आउने रहेछ त्यो मुहार । मुटु कब्जा गरेर बसेको त्यो मुहारले त्यतिबेला उसलाई जिउन पनि दिएन । अनि मर्नबाट पनि सधैँ रोक्यो । महिना बित्यो, एक–दुई गर्दै । उसले आफ्नो हृदयको रगतले लेखेका पन्नाहरु किन वापस पायो बुझ्न कहिले सकेन ।

 

 
सायद कुनै गल्ती भएको हुन सक्छ । उसको मनले राम्रो गरेको भन्दाभन्दै उनको नजरमा त्यो कुरा गल्तीको रूपमा देखापरेको हुन सक्छ भन्ने सोचलाई अगाडि राख्दै एक दिन त्यो अज्ञात गल्ती स्वीकार गरेर पुनः अर्को चिट्ठी पठाउने आँट गरेर उनको हात लगाउने अन्तिम प्रयास ग¥यो । जसमा उसले क्षमा याचना गरी जिउने आधार मागेको थियो । तर नियती कति निष्ठुरी हुँदो रहेछ । कति पीडादायक हुँदो रहेछ माया । उसको त्यो मनको पीडा छचल्किएको वेदनाको पातो पनि उनले हातले पनि नछोई हुत्याइदिइछिन् ।

 

 
यसपटक त मन थाम्न नसकेर कुदेर एकान्तमा पुगी भक्कानिएर रोएको थियो ऊ । अब त आफ्नो भाग्य भनेको नै उनको दर्शन पाउनु मात्र हो भन्ने जस्तो भयो उसलाई । केवल उनको दर्शन पाउनको लागि ऊ आफ्नो घरभन्दा बढी उनको घर भएको स्थानमा विरक्तिएर बस्न थाल्यो ।

 

 
घर त खान र सुत्न पनि आउन छाड्यो । उसलाई पर कतै उनको आकार देख्न पाउँदा ब्रम्हाण्ड खुशीले हाँसेको जस्तो लाग्दथ्यो । त्यो निष्कपट रूपले धोखा दिएको विश्वास उसले आजसम्म गर्न सकेको छैन । बाध्यताको भूमरीमा गरेको निर्णय हुनसक्छ । उसको भन्दा ठूलो घाउ लिएर पो बाँचीरहेकी छिन् कि ?

 


जसरी भए पनि ऊ निरस जीवन डो¥याएर यहाँसम्म आएको नै थियो । समयसँग दुःख भोग्ने शक्ति वरदान पाएकै थियो । सहने सामथ्र्य हुर्कदै जाँदा सांसारिक व्यवहारले छोप्दै जाँदो रहेछ । मरी हाल्न नसकेपछि समाजको लागि जिउनु पर्ने कस्तो विवशता ? जे होस् उसको जीवन अगाडि बढिरहेको थियो ।

 

मनमा रहेको उनको तस्बिरमाथि अर्को तस्बिर टाँसिसकेको परिस्थितिमा समयको चक्का गुड्दै थियो । मुटुको भित्तामा अमिट भएर टाँसिएको उनको तस्बिरले नै मनको धेरै ताप पाएको थियो । कैयौं पटक ऊ एकान्तमा हुँदा अनि आफ्नो जीवनसँग जोडिएको घटना सम्झन खोज्दा उनलाई नै सम्झिने हुनाले अरु कुनै घटना ताजा रूपमा आउन सक्दैन थियो । अचानक पुनः उनीसँग समयको नयाँ प्रविधिको माध्यम र सहयोगमा भेट भयो ।

 

 
मनको वेदना, अनुभूति र कुण्ठा पोखिन महिना लाग्यो । एक–अर्काको भावना साटासाट हुन बेरलाग्दो रहेनछ । आफ्नो सम्पूर्ण मनको भावना पोखिसकेपछि बाँकी के नै रहेको थियो । एउटा असल मित्रता जीवनभरि निभाउने सोच उसको मनमा थियो । सोचेको कुरा सधैँ नभएको, भाग्यले सधैँ ठगेको उसलाई भोक, निन्द्रा र प्यासको इच्छा गौण भएको यो कस्तो नयाँ अनुभूति भन्ने लाग्दै थियो उसलाई ।
 

 

अचानक मौनताले फेरि एकपल्ट अब पुनः कहिले संवाद नगर्ने निर्णय सुनाइदिएको हुनाले प्रेमसागर रन्थनिएको छ । तर पनि बज्र भइसकेको उसको त्यो छातीले यो प्रहार पनि सहन सकोस् भन्ने प्रार्थना गर्दै भविष्यको दूरगामी यात्राको निरन्तरतामा अगाडि बढिरहनु उसको नियति भएको छ ।

प्रतिकृया दिनुहोस