बजेट निर्माणका लागि विज्ञसंँग छलफल

चितवन, ३० जेठ (रासस) ः भरतपुर महानगरपालिकाले विज्ञहरुको सुझावमा गुरुयोजना र सोही अनुसारको आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्न छलफल थालेको छ । 

अन्तर्राष्ट्रियस्तरको महानगरपालिका बनाउने संकल्प लिएको भरतपुर महानगरले व्यवस्थित गुरुयोजना बनाउँदैछ । आउँदो आवबाट बजेट पनि सोही अनुरुप निर्माण गर्न विज्ञको रायसुझाव लिने काम भइरहेको छ । 

महानगरले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेल, शहरी पूर्वाधारविद् डा सूर्यराज आचार्य र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा सुनिलबाबु श्रेष्ठलाई विज्ञका रुपमा बोलाएर सुझाव लिइरहेको महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । 

“गुरुयोजना अनुरुपको बजेट निर्माण गर्न विज्ञसँग सुझाव लिइँदैछ,” उहाँले भन्नुभयो । न्यून बजेटमा दीर्घकालीन र महत्वपूर्ण योजना सम्पन्न गर्नेगरी योजना छनोट गर्ने काम भइरहेको उहाँको भनाइ छ । सबै हिसाबले उत्कृष्ट महानगर भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी बजेट निर्माणमा ध्यान दिन विज्ञको सहयोग लिन थालेको दाहाल बताउनुहुन्छ । 

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले महानगरलाई शहरी, मिश्रित र ग्रामीण गरी तीन भागमा विभाजन गरेर नमूना विकासका लागि बजेट निर्माण गर्न विज्ञको सुझाव लिने काम भइरहेकोे बताउनुभयो । महानगरले २९ वटा वडामध्ये २८ वटामा भेला गरी रायसुझाव लिइसकेको छ । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले चालु आवकोे बजेट रु तीन अर्ब ५० लाख हाराहारी हुने बताउनुभयो । उहाँका अनुसार सुशासन र सेवा प्रवाह, सामाजिक विकास, पूर्वाधार क्षेत्र, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकास समिति गठन गरिएको छ । समितिले विज्ञसँग बजेटका लागि छलफल गरिरहेको छ । महानगरले विधेयक समिति निर्माण गरेको छ । 

महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले स्थानीयस्तरका बुद्धिजीवी, विषयगत विज्ञ र सरोकारवालासँग समेत छलफल गरिरहेको बताउनुभयो । 
––– 

प्रतिकृया दिनुहोस